आज प्रथम शहीद लखनको १४२ औं स्मृति दिवस, पोखराको लखनचोकमा पूर्ण कदको शालिक ठड्याइयो

पोखरा, २ फागुन
आज नेपालका प्रथम शहीद लखन थापामगरको १४२ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । प्रथम शहीदको सम्झनामा नेपालमा मात्र नभइ विदेशमा समेत त्यहाँस्थित विभिन्न संघसंस्थाले स्मृति सभाको आयोजना गरी प्रथम शहीदलाई सम्झँदै आएका छन् । प्रथम शहीद लखनले शहादत प्राप्त गरेको स्थान गोरखाको शहीद लखन गाउँपालिकास्थित बुङकोट, काहुले भंगारमा नवनिर्मित शालिकको आज अनावरण गर्ने कार्यक्रम पनि छ । त्यस्तै, प्रथम शहीद लखन थापामगर स्मृति प्रतिष्ठानले विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
यता, पोखरामा पनि प्रथम शहीद लखन थापामगर शालिक निर्माण तथा व्यवस्थापन समितिको आयोजनामा प्रथम शहीदको स्मृति सभाको आयोजना हुँदैछ । जसमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विशेष सम्बोधन गर्नुहुनेछ ।
यसैबीच, पोखराको लखनचोकमा प्रथम शहीद लखन थापामगरको पूर्ण कदको शालिक ठड्याइएको छ । यसअघि पनि त्यहाँ पूर्णकदकै शालिक थियो । पोखरा महानगरपालिकाले आइल्याण्ड हटाउने अभियान अन्तर्गत अघिल्लो वर्ष शालिक भत्काएको थियो । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, नेपाल मगर संघ, कास्कीलगायतका विभिन्न संघसंस्थाले विरोध गरेपछि त्यहाँ पुनः अर्धकदको शालिक राखिएको थियो । अहिले पुनः सोही ठाउँमा पूर्ण कदकै शालिक राखिएको हो । पोखरा महानगरपालिकासँग भएको सम्झौता अनुसार लखनचोकमा पूर्ण कदको शालिक ठड्याइएको समितिका संयोजक एवं नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिनुभयो ।


पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्र रहेका सबै शालिकहरुलाई पार्कमा लगेर सुरक्षित राख्ने अभियान चलाएको थियो । तर, अहिले एकाएक शालिकहरु पूरानै ठाउँमा ठड्याइएका छन् । केही समयअघि अमरसिंहचोकमा रहेको अमरसिंह थापाको शालिक पनि पूरानै अवस्थामा ठड्याइएको थियो । तर जीरो किलोमिटरमा रहेको योगेन्द्रमान शेरचनको शालिक चाहिँ त्यहाँबाट विस्थापन गरिएको छ ।
महानगरले अहिलेसम्म लखनचोक, अमरसिंहचोक, बिरौटाचोक, मुस्ताङचोक, हरिचोकलगायतका ठाउँमा आइल्याण्डको आकार घटाएको छ । त्यहाँ रहेका सबै शालिकलाई पार्कमा व्यवस्थित गर्ने महानगरको योजना भने तुहिएको छ । जनयुद्धताका लखनचोक, साबिक पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक तत्कालीन वाईसीएलले तोडिदिएका थिए । शालिक तोडिएपनि हालसम्म पृथ्वीचोकको नाम जनजिब्रोबाट निस्किएको छैन ।
तत्कालिन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले शहीद लखन थापालाई प्रथम शहीदका रुपमा घोषणा गरेको थियो । जहाँनियाँ राणा शासनविरुद्ध सशस्त्र विद्रोहको नेतृत्व गरेका लखनलाई गोरखाको बुङकोट, काहुले, भंगारस्थित खिर्राको रुखमा झुण्ड्याएर मारिएको थियो ।

Advertisment