महिला उद्यमी संघ कास्कीको वडा एकाइ गठन तथा फूल सजावट तालिम

पोखरा, १ फागुन
महिला उद्यमी संघ नेपाल, कास्कीले आफ्नो संगठन विस्तार अभियान सुरु गरेको छ । संघले पोखरा महानगरपालिका वडा नं. १ मा आफ्नो वडा एकाइ समिति विस्तार गरेको हो ।
मंगलबार आयोजित वडा एकाइ गठन तथा फूल सजावट तालिम कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद् मीना गुरुङले महिलाहरूका लागि परीक्षाको घडी आएको उल्लेख गर्नुभयो । घरको काम भ्याएर पनि बाहिरको काम गर्न महिलाहरू सक्षम रहेको भन्दै उहाँले अवसर पाए महिलाले आफूलाई प्रमाणित गरेर देखाउनुपर्ने धारणा राख्नुभयो ।
महिला उद्यमी संघ नेपाल, कास्कीको वडा एकाइ विस्तार अभियानमा आफूले सम्पूर्ण खर्च सहयोग गर्ने जनाउँदै सधैं महिला उद्यमीको साथमा रहने प्रतिबद्धता पनि जनाउनुभयो । सांसद् गुरुङले पोखरा महानगरपालिकाका विभिन्न वडामा वडा एकाइ गठनका लागि वडा नं. ४, ८, ९, ११, १६ र २० मा हुने कार्यक्रमका लागि सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ ।
सो अवसरमा स्वस्तिक हस्तकला उद्योग, बागबजार, पोखराकी सञ्चालिका सीता गुरुङ, सामुदायिक सेवा केन्द्र, बगरकी सचिव कल्पना बस्नेत, वडा नं. ८ की वडा महिला सदस्य किरण गौतमलगायतले बोल्नुभएको थियो । स्वस्तिक हस्तकला उद्योग, बागबजारको संयोजनमा भएको कार्यक्रममा माछापुच्छ«े बैंकले सहयोग गरेको हो ।
यसैबीच, महिला उद्यमी संघ नेपाल, कास्की वडा एकाइ समिति, पोखरा–१ को अध्यक्षमा मीना प्रधान चयन हुनुभएको छ । त्यसैगरी, उपाध्यक्षमा शोभा रावत, सचिवमा ऐनशोभा गुरुङ, कोषाध्यक्षमा लक्ष्मी शर्मा चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा नवीना गुरुङ, अञ्जु केसी, गीता शर्मा, मञ्जु परियार र पुष्पा पाण्डे रहनुभएको छ ।
महिला उद्यमी संघ नेपाल, कास्कीकी अध्यक्ष काशी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रतिभा गैरेले गर्नुभएको थियो भने कोषाध्यक्ष सरु बरालले स्वागत गर्नुभएको थियो ।

Advertisment