एकता सहकारीको अन्तरघुलन कार्यक्रम सम्पन्न

पोखरा, २३ माघ
पोखरा–१४, चाउथेस्थित एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीहरूबीच आपसी सहकार्य बढाउनका लागि अन्तरघुलन कार्यक्रम सम्पन्न गरेको छ । सहकारीको शिक्षा उपसमितिले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै कास्की जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकालले राज्यको नीति सहकारीमैत्री हुन नसकेको गुनासो गर्नुभयो । नेपाली अर्थतन्त्रकै महत्वपूर्ण मानिएको सहकारी क्षेत्रलाई राज्यले बेवास्ता गरेको बताउँदै उहाँले सहकारी ऐन निर्माणमा सहकारी क्षेत्रको पनि प्रतिनिधित्व हुनुपर्ने उल्लेख गर्नुभयो । सहकारीसम्बन्धी संघीय ऐन र प्रदेश तथा स्थानीय तहका नीति, नियम बाझिएको उल्लेख गर्दै ढकालले राज्य सहकारी क्षेत्रको समस्या समाधान भन्दापनि समस्या बल्झाउनेतिर उद्यत भएको आरोप लगाउनुभयो ।
सो अवसरमा सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विश्वराज बाँस्तोला, बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका धर्मराज भण्डारी, कर्मशील बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष संगीता गौतम, संगम बचत तथा ऋण सहकारीका अध्यक्ष निरज थापा, माछापुच्छ«े सहकारी संस्थाका अध्यक्ष डा. वीरबहादुर कार्की, रुपा ताल पुनस्र्थापना तथा मत्स्य पालन सहकारीका अध्यक्ष लेखनाथ ढकाल, रुपाकोट महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष गिमाया गुरुङ, कोन सहकारीका सचिव शान्तकुमार श्रेष्ठ, पानस बचत तथा ऋण सहकारीका प्रबन्ध निर्देशक बद्री पोखरेललगायतले सहकारीले भोग्नुपरेका समस्या र समाधानका उपायबारे बोलेका थिए ।


आयोजक एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालकृष्ण काउछामगरले सहकारीहरूबीचको आपसी सहकार्य बढाउन कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । अध्यक्ष काउछामगरले सबै सहकारीहरूलाई कार्यक्रममा सहभागी गराउन नसके पनि प्रतिनिधिमूलक रुपमा १५ वटा सहकारीका प्रतिनिधिहरूलाई कार्यक्रममा आमन्त्रण गरिएकोमा १२ वटा सहकारीका प्रतिनिधिहरू सहभागी भएको बताउनुभयो । सहकारीका सचिव सुदर्शन पौडेलले सञ्चालन गरेको कार्यक्रममा शिक्षा उपसमितिका संयोजक तिलकप्रसाद तिवारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने उपाध्यक्ष क्या. कृष्णबहादुर थापाले स्वागत गर्नुभएको थियो ।

Advertisment