मिस नेपाल शृंखला भन्छिन् ः क्यान्सरबारे जनचेतना जरुरी छ

पोखरा, १९ माघ
मिस नेपाल वल्र्ड–२०१८ शृंखला खतिवडाले देश जति विकसित हुँदै गयो उति नै क्यान्सर रोगीको संख्यामा वृद्धि हुँदै गएको भन्दै विलासिता र खानपानका कारण क्यान्सरपीडित बढेको बताएकी छिन् । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा मनाइने विश्व क्यान्सर दिवसको पूर्व सन्ध्यामा पोखरामा शनिबार आयोजना गरिएको क्यान्सर निवारणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
क्यान्सरको पनि उपचार छ भन्ने जनचेतना समेत नभएको उल्लेख गर्दै मिस नेपाल शृंखलाले नेपालमा पनि क्यान्सर रोगको सफल उपचार सम्भव भएको बताइन् । क्यान्सर लाग्ने बित्तिकै ऋण काढेर उपचारका लागि विदेश दौडाइहाल्ने चलन रहेको भन्दै उनले भनिन्, “नेपालमा पनि क्यान्सर रोगको राम्रो उपचार हुन्छ भन्ने धेरैलाई चेतना छैन ।” क्यान्सरबारे जनचेतना जगाउन सके धेरै हदसम्म क्यान्सर निवारणमा सहयोग पुग्ने उनको भनाइ छ ।


कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद् विन्दुकुमार थापाले क्यान्सरबारेको आम धारणामा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । क्यान्सर रोग लाग्न नदिन आफ्नो खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्ने बताउँदै सांसद् थापाले क्यान्सर रोग लागेपनि समयमै उचित उपचार आवश्यक हुने बताउनुभयो । क्यान्सर रोग लागेपछि मरिहालिन्छ भन्ने धारणा परिवर्तन गर्नुपर्ने बताउँदै उहाँले क्यान्सर भएको थाहा भएपछि चिन्ता गर्ने भन्दा पनि उचित उपचारमा लाग्नुपर्ने बताउनुभयो ।
सो अवसरमा नेपाल अर्बुदरोग निवारण संस्थाका पूर्व अध्यक्ष एवं वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले सकारात्मक सोंच भए मात्र समाज र देशलाई बदल्न सकिने धारणा राख्नुभयो । क्यान्सरबारेको गलत धारणा हटाउनुपर्ने उल्लेख गर्दै उहाँले क्यान्सर भएको थाहा भएपछि अब मरिहालिन्छ भनेर चिन्ता नगरी उचित उपचारमा लाग्नुपर्ने बताउनुभयो । नेपाल अर्बुदरोग निवारण संस्थाका निवर्तमान केन्द्रीय अध्यक्ष दिवाकर राजकर्णिकारले क्यान्सर रोग लाग्न नदिन खानपानमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । क्यान्सरको प्रमुख कारक मध्येको एक सूर्तीजन्य पदार्थमुक्त देश बनाउनुपर्नेमा जोड दिँदै उहाँले क्यान्सरबारे जनचेतना जगाउन पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नेपाल अर्बुदरोग निवारण संस्था, कास्की शाखाका अध्यक्ष रामचन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नारायण पराजुली र संस्थाका केन्द्रीय सदस्य एवं कार्यक्रम संयोजक दिनेशशंकर पालिखेले स्वागत गर्नुभएको थियो ।

Advertisment