मुलुकको समृद्धिका लागि प्रतिपक्षी सोंचको अन्त्य आवश्यक ः मन्त्री गुरुङ

पोखरा, १९ माघ
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले मुलुकको समृद्धिका लागि प्रतिपक्षी सोंचको अन्त्य जरुरी रहेको बताउनुभएको छ । थोक व्यवसायी संघ, कास्कीको प्रथम वार्षिक साधारणसभा एवं प्रथम अधिवेशनलाई शनिबार सम्बोधन गर्दै मन्त्री गुरुङले निजी क्षेत्रले प्रतिपक्षी हौं भन्ने सोंच राख्न नहुने बताउनुभयो ।
विगतमा सरकारका राम्रा कुराको पनि विरोध हुने गरेको भन्दै मन्त्री गुरुङले समृद्ध नेपाल निर्माण गर्ने अभियान सरकार र निजी क्षेत्रको एकै भएको धारणा राख्नुभयो । सरकार र निजी क्षेत्र मिलेर मात्र समृद्ध नेपाल निर्माण गर्न सकिने बताउँदै उहाँले जे कुराको पनि विरोध गर्ने संस्कारको अन्त्य हुनुपर्ने बताउनुभयो । विगतमा राजनैतिक दलहरुले नै हरेक कुरामा विरोध गर्ने संस्कार सिकाएको भन्दै मन्त्री गुरुङले अब भने समय फेरिएको र विरोध मात्रले देशको विकास हुन नसक्ने बताउनुभयो ।


नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले उद्योगी, व्यवसायीका समस्या समाधान गर्न सरकारले चासो दिनुपर्ने बताउँदै अझै पनि विद्यमान कानून व्यवसायीमैत्री हुन नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेल, फेन्सी तथा रेडिमेड व्यवसायी संघ, कास्कीका अध्यक्ष प्रदीपकुमार मुल्मी, थोक व्यवसायी संघ, कास्कीका सल्लाहकार मीनराज काफ्ले र सर्वेश्वर व्यवसायी संघका अध्यक्ष सन्तोष पौडेलले राज्यले लगानी सुरक्षाको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
थोक व्यवसायी संघ, कास्कीका अध्यक्ष टामलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव प्रेमप्रसाद सुवेदी र प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक लेखनाथ सुवेदीले स्वागत गर्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

Advertisment