अबको अग्रगामी विकल्प संघीय जनगणतन्त्र ः गौरव

पोखरा, १७ माघ
नेकपा (क्रान्तिकारी माओवादी)सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल ‘गौरव’ले अबको अग्रगामी विकल्प संघीय जनगणतन्त्र भएको बताउनुभएको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो), गण्डकी प्रदेश समितिले बिहीबार पोखरामा आयोजना गरेको “अग्रगामी विकल्पको तयारी गरौं” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गौरवले विद्यमान लोकतान्त्रिक गणतन्त्रले जनताका समस्या समाधान नहुने जिकिर गर्नुभयो । दुई तिहाइ बहुमत प्राप्त कम्युनिष्ट सरकार भएपनि कम्युनिष्ट व्यवस्था नभएको भन्दै उहाँले नामले कम्युनिष्ट भएपनि व्यवहारमा कम्युनिष्ट चरित्र नभएको उल्लेख गर्नुभयो ।
वर्तमान ओली सरकारले देशमा विद्यमान समस्याको समाधान गर्न नसक्ने बताउँदै अध्यक्ष गौरवले सडक आन्दोलनका माध्यमबाट वर्तमान सत्ता परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । संसदीय व्यवस्थाले देशको विकास नहुने उल्लेख गर्दै उहाँले संसदीय व्यवस्थाको विकल्प नखोजेसम्म देशले निकास नपाउने तर्क गर्नुभयो ।


एक अर्को प्रसंगमा उहाँले नयाँ जनवादी गणतन्त्र स्थापनाका लागि जनयुद्ध लडिएको स्मरण गराउँदै जनयुद्धको नेतृत्व गरेका वर्तमान नेकपा अध्यक्ष प्रचण्डले जनतालाई धोका दिएको आरोप लगाउनुभयो । देशमा संघीय जनगणतन्त्रको स्थापना गर्न आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको नेतृत्व गर्ने जनाउँदै उहाँले जनआन्दोलनको तयारीका लागि देशव्यापी जनजागरण र जनपरिचालन अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
आफ्नो पार्टीले जनवादी व्यवस्था स्थापनाका लागि शान्तिपूर्ण जनआन्दोलन गर्ने बताउँदै अध्यक्ष गौरवले सरकारले दमन गरे हतियार समेत उठाउन बाध्य हुने अवस्था आउन सक्ने उल्लेख गर्नुभयो । राष्ट्रिय स्वाधीनता संकटमा परेको भन्दै उहाँले देशको सीमा मिचिँदा समेत सरकारको नेतृत्व गरेका राष्ट्रवादी भनिएका नेताहरूले कुनै वास्ता नगरेको बताउनुभयो ।


अध्यक्ष गौरवका अनुसार देजमोले आगामी फागुन ७ गते मेची महाकाली जनजागरण तथा जनपरिचालन अभियानको काठमाडौं, पोखरा, झापाको काँकडभिट्टा र कञ्चनपुरको गड्डाचौकीबाट एकै साथ उद्घाटन गर्ने कार्यक्रम राखेको छ । सो अभियानको आगामी फागुन २१ गते चितवनमा जनसभाको आयोजना गरी समापन गरिने अध्यक्ष गौरवले जानकारी दिनुभयो । त्यस्तै, देजमोले आगामी चैत्र २४ गते ऐतिहासिक जनआन्दोलन दिवसका दिन काठमाडौंमा विराट जनप्रदर्शनसहित प्रथम राष्ट्रिय सम्मेलन समेत गर्ने भएको छ ।
अन्तरक्रिया कार्यक्रममा देजमोका प्रदेश संयोजक केशबहादुर परियार, वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भक्त रसाइली, संघीय समाजवादी फोरम नेपाल, कास्कीका सचिव कुलबहादुर भुजेल, वाम बुद्धिजीवि कर्णबहादुर जिसी, अधिवक्ता राजु अधिकारी, नेपाल पत्रकार महासंघ, कास्की शाखाका कार्यसमिति सदस्य कमल पौडेल “अथक”लगायतले पनि बोलेका थिए ।

Advertisment