गण्डकी प्रदेशमा बहुसांस्कृतिक ग्राम बनाउन जग्गा खोज्दैछौं ः मुख्यमन्त्री

पोखरा, १० माघ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशमा सांस्कृतिक ग्राम निमार्णको लागि जग्गाको खोजी भइरहेको बताउनुभएको छ । फेवा टेलिभिजनको प्रथम फेवा आइडल–२०७५ को विहीबार पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको कला, संस्कृति सहितको सांस्कृतिक ग्राम निमार्णको लागि प्रदेश सरकारले जग्गाको खोजि गरेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “हाम्रो गण्डकी प्रदेशमा धेरै सांस्कृतिक विभिधता रहेको छ, यहाँ धेरै जनजाति र भेषभूषा रहेको छ, अब यसलाई जोगाउँदै हामीले जन्म देखि मृत्यू हुदासम्मका संस्कारहरू समेत जानकारी गराउने उद्देश्यले ठूलो लगानीमा सांस्कृतिक ग्राम बनाउने परिकल्पना गरेका हौं ।” जीवित संग्रहालयको रुपमा आफूहरूले विकसित गर्दै लैजाने उद्देश्यले प्रदेशले सांस्कृतिक ग्राम निमार्ण गर्ने भएको उहाँले जनाउनुभयो ।
उहाँले भन्नुभयो, “कसैले स्वर्ग छ भन्छन यो संसारमा मैले देखेको छैन्, तर पनि कसैले स्वर्ग छ भन्छन भने त्यो गण्डकी प्रदेशमै छ । ” गण्डकी प्रदेशमा हिमाल देखि तराईसम्म, शेर्पादेखि थारुसम्मका जनजातिहरुको बसोबास भएको, प्रकृति र संस्कृतिको धनी यस प्रदेशमा कसैले स्वर्ग छ भन्छन् भने यसै प्रदेशमा भएको उहाँको दाबी थियो । प्रकृति र संस्कृतिलाई समृद्धिसँग जोडेर अघि बढाउनु पर्ने मुख्यमन्त्रीको भनाइ छ । फेवा आइडल गण्डकी प्रदेशको कला संस्कृतिको मात्र पहिचान नगरी राष्ट्रिय पहिचान गराउने अभियानमा लागेको उहाँले बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय सांस्कृतिक समेत प्रदर्शन गरी उक्त कार्यक्रमलाई अन्तर्राष्ट्रियकरण गर्दै अघि बढ्न सुझाव दिँदै उक्त कार्यक्रमको लागि आवश्यक सहयोग गर्ने वचन दिनुभयो ।
पूर्व उप–प्रधानमन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझी “अनिल”ले देश नयाँ संरचनामा प्रवेश गरेकोले अब देशको विकासको आधार तयार भएको बताउनुभयो । अब विकासले दिन दुई गुणा रात चार गुणा वृद्धि हुने उहाँले बताउनुभयो । गण्डकी प्रदेशका सांसद् एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला “रुपक”ले राष्ट्रियता र आर्थिक समृद्धिको लागि फेवा आइडल जस्ता महत्व राख्ने कार्यक्रम आवश्यक भएको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य एवं पूर्व सभासद् राजकाजी गुरुङ “करण”ले संस्कृति संरक्षण अभियानमार्फत् फेवा टेलिभिजनले समृद्धिको यात्रा सुरु गरेको भनाइ राख्नुभयो ।
कावासोती नगरपालिका, नवलपुरका उपप्रमुख प्रेमशंकर मर्दानिया थारुले गण्डकी प्रदेशमा रहेको कला संस्कृतिलाई संरक्षण गर्न सके यसबाट पर्यटन प्रबद्र्धन हुने जनाउनुभयो । फेवा टेलिभिजनका अध्यक्ष तेजेन्द्र पौडेलको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो । यस अघि पोखराको नयाँबजारबाट सुरु भएको सद्भाव ¥याली, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, सभागृहचोक, लखनचोक हुँदै प्रदर्शनी केन्द्रमा पुगेर टुंगिएको थियो । ¥यालीमा पन्चे बाजासहित विभिन्न जनजातिको झाँकी समेत प्रदर्शनी गरिएको स्टेशन म्यानेजर हेमराज अधिकारीले बताउनुभयो ।


फेवा आइडलमा गण्डकी प्रदेशका ९ जिल्लाका १४ टिमले फाइनल राउण्डमा प्रतिष्प्रर्धा गर्ने भएको फेवा टेलिभिजनका प्रबन्ध निर्देशक लीलाबहादुर जिसीले बताउनुभयो । उहाँका अनुसार बिजेताले ३ लाख ५० हजार, उपबिजेताले २ लाख तेश्रो हुनेले एक लाख ५० हजार र सान्त्वना हुनेले एक लाख पुरस्कार पाउने भएका छन् । फाइनल राउण्डमा प्रवेश गरेका १० टिमलाई जनही ३० हजार प्रदान गरिने भएको टेलिभिजनका सञ्चालक राजु श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisment