पृथ्वीनारायण क्याम्पसलाई QAA (गुणस्तरको प्रमाणपत्र) प्राप्त

पोखरा, पुस २७

पृथ्वीनारायण क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन QAA को प्रमाणपत्र हालै प्राप्त गरेको छ । यो गुणस्तरको प्रमाणपत्र आयोगद्वारा बनाइएको निश्चित मापदण्ड पूरा गरेपछि मात्र प्रदान गरिन्छ ।
विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त जानकारीका अनुसार हालसम्म देशभरिका ३० वटा सरकारी, सामुदायिक तथा निजीस्तरका उच्च शैक्षिक संस्थाहरुले यसप्रकारको प्रमाणपत्र प्राप्त गरेका छन् र अन्य केही संस्थाहरु प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया रहेका छन् ।
पृथ्वीनारायण क्याम्पसले सो प्रमाणपत्र प्राप्त गर्नका लागि २०७४ साल पौष २४ गते आयोगबाट आसयपत्र प्राप्त गरी अंग्रेजी विभागका सह–प्राध्यापक डा. मीन पुनको संयोजकत्वमा एक एकाइ गठन गरी त्तब्ब् प्रक्रियाको थालनी गरिएको थियो । सो प्रक्रिया पूरा गर्न गठित एकाइअन्तर्गत विभिन्न समिति र उप–समितिहरुको समेत गठन गरी कार्य सम्पन्न गरिएको हो ।
संयोजक डा. पुनका अनुसार विशेष गरी तिन वटा समितिहरु आन्तरिक गुणस्तर सुनिश्चितता समिति, स्वअध्ययन टोली र शैक्षिक व्यवस्थापन सूचना पद्धति टोलीको सक्रियता रहेको थियो भने अन्य उप–समितिहरुमध्ये गुरुयोजना टीम, वार्षिक प्रतिवेदन टीम, प्राज्ञिक अडिट टीम, सार्वजनिक सूचना टीम, अतिरिक्त कार्यक्रम एकाइ, रोजगारी पदस्थापन एकाइ, परामर्श सेवा एकाइ र अन्तर्राष्ट्रिय सहकार्य एकाइ लगायतका थिए ।
गुणस्तरीयताको प्रमाणपत्र प्राप्त गर्न क्याम्पसले आयोगमा मूल्यांकनका लागि स्वअध्ययनको प्रतिवेदन बुझाउनु पर्ने हुन्छ जुन गत जेठ ३१ गते बुझाएको थियो । सो प्रतिवेदनका आधारमा आयोगले गत साउन २२ गते त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. कमलकृष्ण जोशीको संयाजकत्वमा सह–मूल्यांकन टीम गठन गरी गत भदौ २८ गतेदेखि ३१ गतेसम्म सो टीमले क्याम्पसको प्रथम अवलोकन भ्रमण गरी प्रतिवेदनमार्फत क्याम्पसमा थप सुधारका लागि सुझाव पेश गरेको थियो । सह–मूल्यांकन टीममा प्रा.डा. बासु काफ्ले, प्रा.डा. माधवराज कोइराला, प्रा.डा. मनसा ठकुराठी, प्राध्यापक सपना श्रेष्ठ र विदेशी विज्ञमा प्रा.डा. एमसी गायत्री रहनुभएको थियो । त्यसैगरी आयोगका तर्फबाट नारायण भण्डारी, नविना चौलागाई र आश्मा अधिकारी पनि सहभागी रहनु भएको थियो ।
त्यसैगरी सह–मूल्यांकन टीमको अन्तिम अवलोकन तथा मूल्यांकन भ्रमणका क्रममा विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा. भिमप्रसाद सुबेदी र सदस्य सचिव प्रा.डा. देवराज अधिकारीको पनि उपस्थिति रहेको थियो ।
सह–मूल्यांकन टीमले दिएको प्रतिवेदनमा उल्लेख गरिएका सुझाव र आयोगद्वारा सिफारीस गरिएका उच्च शिक्षामा गुणस्तरका मापदण्डहरुका आधारमा क्याम्पसले सम्पूर्ण सुधारलगायतका कार्यहरु सम्पन्न गरी अन्तिम मूल्यांकन गर्न सहमतिका लागि लिखित जवाफ दिएको थियो । सोही अनुसार सह–मूल्यांकन टीमले गत मंसीर २५ गतेदेखि २९ गतेसम्म क्याम्पसमा अन्तिम अवलोकन तथा मूल्यांकन भ्रमण गरेको थियो । आयोगको संस्थागत मूल्यांकनको प्रावधान अनुसार आयोगले खटाएको अन्तिम अवलोकन तथा मूल्यांकन भ्रमण टोलीमा एक जना विदेशी विज्ञसमेतको सहभागिता रहेको थियो ।
गुणस्तरको प्रमाणपत्र वितरण समारोह सानोठिमी भक्तपुरमा रहेको विश्वविद्यालय अनुदान आयोगको कार्यालयमा आयोजना गरिएको थियो । यो प्रमाणपत्र प्राप्त गर्ने उच्च शैक्षिक संस्थाहरुमा पृथ्वीनारायण क्याम्पसबाहेक किर्तिपूरमा रहेको वनस्पतिशास्त्र केन्द्रिय विभाग, उदयपूरमा रहेको त्रियुगा जनता क्याम्पस, बुटवलको सिद्धार्थ गौतम बुद्ध क्याम्पस पनि थिए ।
प्रमाणपत्र वितरण समारोहमा आफ्ना प्रतिवेदन प्रस्तुत गर्ने क्रममा पृथ्वीनारायण क्याम्पसका लागि सह–मूल्यांकन गर्न गठित टीमका संयोजक प्रा.डा. जोशीले पृथ्वीनारायण क्याम्पस आफैमा एक विश्वविद्यालय रहेको र हरेक दृष्टिकोणले सम्पन्न रहेकाले हामीले गुणस्तरको प्रमाणपत्र दिनुपर्छ भनेर सिफारीस गर्नमा कुनै द्धिविधा नरहेको विचार व्यक्त गर्नु भयो । त्तब्ब् प्रक्रिया थालेपछि सबैभन्दा चाँडो सो प्रक्रिया पूरा गरी गुणस्तरको प्रमाणपत्र प्राप्त गर्ने संस्थामा विश्वविद्यालय अनुदान आयोगको इतिहासमा पृथ्वीनारायण क्याम्पस पहिलो हो र त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसहरुमध्ये यो दोस्रो हो, वहाँले अगाडी भन्नुभयो ।
सो समारोहमा पृथ्वीनारायण क्याम्पसको तर्फ मन्तव्य दिदै क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाले ज्ञानबिनाको व्यक्ति र गुणबिनाको संस्था काम नलाग्ने हुनाले हामीले क्याम्पसलाई जसरी पनि त्तब्ब् प्राप्त गराउनु पर्छ भनेर मीन सरलाई त्तब्ब् को प्रक्रिया अगाडी बढाउनुस् भनेर अख्तियारी दिएको हो । डा. पुनले इमान्दारीपूर्वक आफ्ना मातहतका टीमहरुलाई सक्रिय बनाई यो उपलब्धि प्राप्त गर्न सफल भयौं, वहाँको भनाई थियो । अब हाम्रासामु थप चुनौती र जिम्मेवारी थपिएको भन्दै संस्थाले प्रदान गर्ने उच्च शिक्षामा गुणस्तरीयता कायम राख्ने कुरामा पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
क्याम्पस सूत्रका अनुसार पृथ्वीनारायण क्याम्पसले त्तब्ब् प्राप्त गरेपछि यसको पहिलो सीधा असर विद्यार्थीमा पर्ने छ । जस्तोकि विद्यार्थीहरुले प्राप्त गरेका प्रमाणपत्रले सर्वत्र (दुबै देशभित्र र देशबाहिर) मान्यता पाउने छ (त्यसका लागि क्याम्पसले प्रयोग गर्ने लेटर हेड र चारित्रिक प्रमाणपत्रमा त्तब्ब् प्राप्त लोगो रहने छ) । त्यसैले विद्यार्थीको पठनपाठनमा गुणस्तरीयता बढ्ने छ र विद्यार्थीको भर्ना संख्यामा क्रमिक वृद्धि हुनेछ । त्यसरी नै प्राध्यापक तथा कर्मचारीले समेत गर्व गर्नसक्ने वातावरण र मान्यता पाउने छन् । यसका साथै विश्वविद्यालय अनुदान आयोगबाट थप अनुदानका साथै नियमित अनुदानमा वृद्धि हुनेछ । र समग्रमा, क्याम्पससंग सम्बद्ध शिक्षक, विद्यार्थी, कर्मचारी, अविभावक र व्यवस्थापन समितिलगायत सम्पूर्ण सरोकारवालाहरु सबैलाई क्याम्पसको प्रगति गरी गुणस्तरीय शिक्षा प्रदान गर्नमा सधै प्रेरित गर्ने छ ।
स्मरण रहोस् २०७५ सालको शिक्षा दिवसको उपलक्ष्यमा नेपाल सरकारबाट पृथ्वीनारायण क्याम्पस देशभरिको आंगिक क्याम्पसहरुमध्ये यो वर्षको उत्कृष्ट क्याम्पस घोषित भएको थियो । प्रत्येक वर्ष देशभरिका क्याम्पसहरुको शैक्षिक उत्कृष्टता र प्रतिस्पर्धाका आधारमा उत्कृष्ट क्याम्पस छनौट गरी पुरस्कृत गरिने परम्परा छ ।

Advertisment