स्व. ललितमान भलञ्जा छन्त्याल स्मृति तारा खेलको उपाधि म्याग्दी मगर समाजलाई

पोखरा, ३० पुस
छन्त्याल जातिको महान् पर्व छार म्हेङ (नयाँ वर्ष) अर्थात् मिलाङे सोङ्तीका अवसरमा नेपाल छन्त्याल संघ, कास्कीद्वारा आयोजित स्व. ललितमान भलञ्जा छन्त्याल स्मृति तारा खेल प्रतियोगिताको उपाधि म्याग्दी मगर समाजले जितेको छ ।
आइतबार सम्पन्न प्रतियोगितामा थकाली सेवा समिति द्वितीय भयो । त्यस्तै, अमरदीप क्लब, अमरदीप तृतीय भयो । प्रतियोगितामा उत्कृष्ट धनुर्धर म्याग्दी मगर समाजका राज पुर्जामगर भए । सर्वोत्कृष्ट खोलर नेपाल छन्त्याल संघ, कास्की “ए”का दलमान घरब्जा छन्त्याल भए । सो अवसरमा प्रतियोगितामा सहभागी टिमहरू अमरदीप क्लब, अमरदीप, म्याग्दी मगर समाज, मार्फा थकाली सेवा सदन, नेपाल छन्त्याल संघ, कास्की “ए” र “बी”, थकाली सेवा समिति, पोखरा र यानीमाया टिम रहेका थिए । उनीहरूलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।


नेपाल छन्त्याल संघ, कास्कीका संस्थापक सदस्य नन्दप्रसाद तथब्जा छन्त्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथि क्या. नन्दबहादुर घरब्जा छन्त्याल, डा. सोमतसिंह तुलाचन, का.वा. अध्यक्ष गोविन्द बुढाथोकी छन्त्याल, माया तथब्जा छन्त्याल, अमरदीप क्लबका टिम कप्तान सुमन गुरुङ, म्याग्दी मगर समाजका चित्रबहादुर रोका, मार्फा थकाली सेवा सदनका गोविन्द ज्वारचन, थकाली सेवा समितिका योगेन्द्र शेरचन, यानीमाया टिमका प्रेमबहादुर पुन, नेपाल छन्त्याल संघ, कास्की “ए”का दलमान घरब्जा छन्त्याल र “बी”का जगनारायण तथब्जा छन्त्यालले बोल्नुभएको थियो ।
सु. धनबहादुर भलञ्जा छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बमबहादुर घरब्जा छन्त्यालले गर्नुभएको थियो ।

Advertisment