महिला उद्यमी संघ नेपाल, कास्कीको पाँचौं साधारणसभा सम्पन्न

पोखरा, २६ पुस
महिला उद्यमी संघ नेपाल, कास्कीको पाँचौं साधारणसभा सम्पन्न भएको छ । बिहीबार सम्पन्न साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सांसद् मीना गुरुङ सबै महिलाहरू उद्यमशील बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
महिलाहरूले अवसर पाएको खण्डमा जस्तोसुकै काम पनि गर्न सक्ने प्रमाणित गरेको उल्लेख गर्दै सांसद् गुरुङले उद्यमशीलताको विकासमा महिला उद्यमी संघ नेपालले सक्रिय भूमिका निभाएको भन्दै प्रशंसा समेत गर्नुभयो । उहाँले महिला उद्यमी महासंघ अन्तर्गत कार्यप्रगति मूल्याङ्कनका आधारमा देशभरिका जिल्लाहरूमध्ये कास्की जिल्ला दोस्रो स्थान प्राप्त गर्दै पुरस्कृत भएकोमा खुशी व्यक्त गर्दै बधाई दिनुभयो ।
सो अवसरमा सांसद् गुरुङले प्रत्येक वर्ष कास्की जिल्लाका एक जना सफल महिला उद्यमीलाई महिला उद्यमी संघ नेपाल, कास्कीमार्फत् महिला उद्यमी अवार्ड दिने घोषणा पनि गर्नुभयो । सांसद् भए बापत पाउने तलबभत्ता र सरकारी सुविधा सामाजिक कार्यमा लगाउने घोषणा गरेकी सांसद् गुरुङले सोही रकमबाट सो अवार्ड दिने घोषणा गर्नुभएको हो । त्यस्तै, उहाँले महिला उद्यमी संघ नेपाल, कास्कीको पोखरा महानगरपालिका अन्तर्गतका ३३ वटै वडामा संगठन विस्तारका लागि समेत सहयोग गर्ने घोषणा गर्नुभयो ।
पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव चिनु गुरुङले महिलाहरू उद्यमशीलताको विकाससँगै नेतृत्व लिनका लागि समेत तयार हुनुपर्ने बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघले महिला उद्यमशीलता विकासका लागि जोड दिएको बताउँदै उपमहासचिव गुरुङले महिला उद्यमी संघ नेपाल, कास्कीलाई आफ्नो तर्फबाट सधैं सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।


साधारणसभामा महिला उद्यमी संघ नेपाल, कास्कीका सल्लाहकारद्वय कुलदेवी बराल र सीता गुरुङलगायतले पनि बोल्नुभएको थियो । साधारणसभाले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन आवश्यक छलफलसहित पारित गरेको छ भने केही बुँदामा संशोधित विधान समेत सर्वसम्मतिले पारित गरेको छ ।
महिला उद्यमी संघ नेपाल, कास्कीकी अध्यक्ष काशी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रथम उपाध्यक्ष पार्वती पौडेल रेग्मी र स्वागत द्वितीय उपाध्यक्ष मीना बरालले गर्नुभएको थियो ।

Advertisment