डा. पौडेलले पत्रकार अधिकारीमाथि गरेको दुव्र्यवहारप्रति पत्रकार महासंघद्वारा खेद प्रकट

पोखरा, २५ पुस
पत्रकार हेमराज अधिकारी तथा क्यामरा पर्सन समिर सुनार माथि चरक मेमोरियल हस्पिटलका निवर्तमान अध्यक्ष डा. बद्री पौडेलले गरेको दुव्र्यवहार प्रति नेपाल पत्रकार महासंघ कास्कीले खेद प्रकट गरेको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवं फेवा टेलिभिजनका स्टेशन म्यानेजर अधिकारी र क्यामरा पर्सन सुनार तथा सञ्चार माध्यम क्यामरा तोडफोडको प्रयास गर्ने उपर आवश्यक कारवाहीको लागि नेपाल पत्रकार महासंघले जोडदार माग गरेको छ । डा.पौडेलले स्वतन्त्र प्रेस माथि ठाडो हस्तक्षेप गरेको नेपाल पत्रकार महासंघ कास्कीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
डा. ऋषि ढकाललाई कुटपिट गरेको आरोपमा पत्रकार अधिकारीले प्रतिकृया लिन खोज्दा पत्रकार तथा संचार माध्यम क्यामरा तोडफोडको प्रयास गर्नुले स्वतन्त्र प्रेस माथि गरिएको आक्रमणको रुपमा महासंघले लिएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
समाचार संकलनमा खटिएका पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गर्न महासंघले स्थानिय प्रशासन समक्ष अनुरोध गर्दै आगामी दिनमा स्वतन्त्र पत्रकारिता निर्बाध ढंगले गर्ने वातावरण सृजना गर्न आह्वान गरेको छ ।

Advertisment