गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई महिला शक्तिको सात बुँदे ज्ञापनपत्र

पोखरा, २५ पुस
नयाँ शक्ति पार्टीनिकट महिला शक्ति महासंघ नेपाल, गण्डकी प्रदेश समितिले विभिन्न माग राख्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएको छ ।
महिला शक्ति महासंघकी गण्डकी प्रदेश संयोजक मञ्जु थापामगरको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री गुरुङलाई सात बुँदे मागसहितको ज्ञापनपत्र बुधबार बुझाएको हो । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री गुरुङले ज्ञापनपत्रमा उल्लेखित जायज माग पूरा गर्न आफूले सक्दो प्रयास गर्ने आश्वासन दिनुभयो ।


ज्ञापनपत्र बुझाउन गएको टोलीमा महिला शक्तिकी प्रदेश संयोजक थापामगरसहित नयाँ शक्ति पार्टी, गण्डकी प्रदेश प्रशिक्षण विभागकी प्रशिक्षक शान्ता न्यौपाने, सांस्कृतिक संयोजक पार्वती जिसी, युवा शक्तिकी प्रदेश उपाध्यक्ष ज्ञानु आचार्य र महिला शक्तिकी कास्की संयोजक लक्ष्मी खातीको उपस्थिति रहेको थियो । ज्ञापनपत्रमा निर्मला पन्तको वास्तविक बलात्कारीलाई यथाशीघ्र पत्ता लगाइ कडा कारबाही गरिनुपर्ने, अंश र वंशमा समान अधिकारको सुनिश्चितता गरिनुपर्ने, चेलीबेटी बेचबिखनको अन्त्य गरिनुपर्ने, समान कामको समान ज्यालाको सुनिश्चितता गरिनुपर्ने, प्रजनन स्वास्थ्यमा अधिकार, निःशुल्क शिक्षा र हिंसामा परी वैदेशिक रोजगारीबाट फर्किएका दिदीबहिनीहरूको उचित व्यवस्थापन हुनुपर्ने माग समेटिएका छन् ।

Advertisment