सामाजिक कार्यमा सक्रिय तमुस्यो रि च्हमीको स्योकैं सम्पन्न

पोखरा, २३ पुस
सामाजिक कार्यमा सक्रिय तमुस्यो रि च्हमी परिवार, कास्कीले गुरुङ जातिको महान् पर्व फो–ल्होछार/ल्होसारका अवसरमा शनिबार पोखरामा स्योकैं कार्यक्रम सम्पन्न गरेको छ ।
तमुस्यो रि च्हमी परिवारमा आबद्ध गुरुङ महिलाहरूले विभिन्न सामाजिक कार्यमा आफूलाई समर्पित गर्दै आएका छन् । परिवारको आफ्नो कोष वृद्धिका लागि आयोजित स्योकैंको उद्घाटन गर्दै मिलन ट्रष्टकी संरक्षक सावित्रीकुमारी गुरुङले तमुस्यो चेलीबेटीहरूले हरेक वर्ष ल्होछार पर्वमा स्योकैं कार्यक्रम गर्दै आएको भन्दै खुशी व्यक्त गर्नुभयो । सामाजिक कार्यमा आफूलाई अग्रसर गराएकोमा खुशी व्यक्त गर्दै उहाँले तमुस्यो रि च्हमीलाई आफ्नो सधैं साथ र सहयोग रहने वचन दिनुभयो ।


गण्डकी प्रदेशसभाका सांसद् इन्द्रधारा विष्टले आफूले थाहा पाएसम्म तमुस्यो रि च्हमी परिवारले निस्वार्थ सामाजिक कार्यलाई प्राथमिकता दिएको भन्दै परिवारको काममा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्नो संस्कृतिको संरक्षण गर्दै सामाजिक कार्यलाई अघि बढाउनु प्रशंसनीय कार्य भएको भन्दै सांसद् विष्टले तमुस्यो रि च्हमीको कार्यबाट अरुले पनि सिक्नुपर्ने बताउनुभयो ।
गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङले असल कर्म गर्नेहरूलाई समाजले सधैं सही मूल्याङ्कन गर्ने भनाइ राख्दै तमुस्यो रि च्हमीले सत्कर्मलाई जारी राखोस् भन्ने शुभकामना दिनुभयो । चलचित्र निर्देशक कृष्णकुमार गुरुङले स्थापनाको छोटो समयमै संस्थाले निकै राम्रो काम गरिरहेको भन्दै अब वैधानिक रुपमै दर्ता गरेर अघि बढ्न सुझाव दिनुभयो ।


सो अवसरमा मादी गाउँपालिका वडा नं. ७, सिल्दुजुरे, कास्कीका वडाध्यक्ष लालबहादुर गुरुङ, मिलन फाउण्डेशन नेपालकी कार्यवाहक अध्यक्ष देवी गुरुङ, मिस तमुस्यो नेपाल–२०१६ निशा गुरुङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा छिटै प्रदर्शनमा आउन लागेको चलचित्र “सबन मु” युनिटका तर्फबाट परिवारलाई ५ हजार रुपैयाँ र परिवारका सल्लाहकार एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी प्रदेश तदर्थ समितिका कोषाध्यक्ष सुरेन्द्र गुरुङ र हाल ः हङकङनिवासी समाजसेवी युवराज गुरुङका तर्फबाट १० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
तमुस्यो रि च्हमी परिवारकी अध्यक्ष गौरी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सल्लाहकार अविलास गुरुङ र सदस्य पुनम गुरुङले स्वागत गर्नुभएको थियो । परिवारका संरक्षक एवं मिलन फाउण्डेशन नेपालका संरक्षक समाजसेवी दुर्गा गुरुङ “मिलन”को मुख्य प्रायोजनमा भएको कार्यक्रमको टिकट प्रायोजन भने मनश्री ट्राभल एण्ड टुर्स प्रालिले गरेको हो । कार्यक्रममा कलाकारहरू कुमार पुन, इन्द्रा गुरुङ, नेत्र गुरुङलगायतले आफ्ना सांगीतिक प्रस्तुती राखेका थिए ।

Advertisment