फो–ल्होको स्वागत गर्दै सकियो बृहत तमु फो–ल्होसार महोत्सव

पोखरा, १६ पुस
तमु फो–ल्होसारका अवसरमा तमु प्ये ल्हु संघ, केन्द्रीय कार्यसमितिको आयोजनामा सञ्चालित बृहत तमु फो–ल्होसार महोत्सव–२०७५ सकिएको छ । गत बिहीबारदेखि सुरु भएको महोत्सवको सोमबार समापन गरिएको हो । खि–ल्हो (कुकुर वर्ग)को बिदाइ र फो–ल्हो (मृग वर्ग)को स्वागत गर्दै यस वर्षको ल्होसार महोत्सव सकिएको छ ।
तमु (गुरुङ) समुदायको महत्वपूर्ण चाड ल्होसारका अवसरमा आयोजित महोत्सवको समापनका अवसरमा सहयोगी विभिन्न व्यक्तित्व र संघसंस्था सम्मानित भए । उनीहरुलाई स्योंकैं कार्यक्रमकी प्रायोजक पूर्णकुमारी म्होब्जे तमुस्योलगायतले सम्मान गर्नुभएको थियो । सो अवसरमा जनप्रतिनिधिहरुका तर्फबाट मादी गाउँपालिका–२, नामार्जुङका वडाध्यक्ष एक्काजंग तमु, महोत्सवका मुख्य प्रायोजक सनराइज बैंकका प्रतिनिधि, संघका संस्थापक सदस्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै, कार्यक्रममा महोत्सवमा सहभागी हुन आएका विभिन्न जिल्लाका तमु प्ये ल्हु संघ शाखाका प्रतिनिधिहरुलाई बिदाइ समेत गरिएको थियो भने महोत्सव अन्तर्गत आयोजित विभिन्न प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । महोत्सव अवधिभर साहित्यिक रचना वाचन, छेलो प्रतियोगिता, धनुषवाण प्रतियोगिता, रुपा लगाउने, बोन फायर, धार्मिक प्रवचन, थासो, छ्योपा, कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुती, दोहोरी गीतलगायतका विभिन्न कार्यक्रम भएका थिए ।
संघका अध्यक्ष हितकाजी टु तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघकी महासचिव शान्ति पर्जु तमुस्यो र सचिव एवं महोत्सवका प्रचारप्रसार संयोजक बुद्धि च्हम्रु तमुले गर्नुभएको थियो । पहिलो दिन अमरसिंहचौरमा भएको महोत्सवको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले गर्नुभएको थियो । कार्यक्रम उद्घाटन अघि रानीपौवादेखि सांस्कृतिक झाँकीसहितको बृहत ¥यालीले नगर परिक्रमा गरेको थियो । महोत्सवको उद्घाटन अमरसिंहचौरमा भएपनि बाँकी चार दिनको कार्यक्रम भने रानीपौवा, शक्तिघाटस्थित तमु प्ये ल्हु संघ, फ–लि–ना क्होंइबो धिं परिसरमा भएको थियो । महोत्सवमा विभिन्न स्टल पनि राखिएका थिए ।

Advertisment