बृहत तमु फो ल्होसार महोत्सवको दोस्रो दिन धार्मिक प्रवचनसहित रस्साकस्सी

पोखरा, १३ पुस
तमु प्ये ल्हु संघ, केन्द्रीय कार्यसमितिको आयोजनामा बिहीबारदेखि सुरु भएको बृहत तमु फो ल्होसार महोत्सव–२०७५ को दोस्रो दिन शुक्रबार धार्मिक प्रवचनसहित रस्साकस्सी प्रतियोगिता सम्पन्न भएको छ । तमु जातिको मौलिक बोन धर्म र तमु संस्कारका बारेमा विभिन्न पच्यु, क्ल्हेप्री, बोन्पो लम गुरुहरूले प्रवचन दिएका थिए ।
पोखरा–११, रानीपौवा, शक्तिघाटस्थित फ–लि–ना क्होइबो धिं परिसरमा भइरहेको महोत्सवको दोस्रो दिन सम्पन्न रस्साकस्सी प्रतियोगितामा पैयुँखोला तमु समाज प्रथम भएको छ भने लालीगुराँस तमु समाज, तेह्रथुम द्वितीय भएको छ । त्यस्तै, महोत्सवको दोस्रो दिन फोटो प्रदर्शनीसँगै लोक तथा दोहोरी गायिका इन्द्रा गुरुङलगायतका कलाकारको समूहले दोहोरी गीत प्रस्तुत गरेको तमु प्ये ल्हु संघका केन्द्रीय सहसचिव लोकेन प्हच्यु तमुले जानकारी दिनुभयो । महोत्सवको तेस्रो दिन शनिबार बिहान रक्तदान कार्यक्रम हुने सहसचिव तमुले जानकारी दिनुभएको छ । त्यस्तै, सोही दिन साहित्यिक रचना वाचन, बोन फायर, वृत्तचित्र प्रदर्शनी समेत हुने भएको छ ।
१६ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन अमरसिंहचौरमा गरिएको थियो । महोत्सवको नेकपा संसदीय दलका प्रमुख सचेतक एवं पूर्व कानून मन्त्री देव गुरुङले उद्घाटन गर्नुभएको थियो । महोत्सवस्थलमा विभिन्न स्टल समेत राखिएका छन् । महोत्सवमा गण्डकी प्रदेश अन्तर्गतका जिल्ला शाखासहित अन्य जिल्ला शाखाहरूबाट समेत सहभागिता रहेको प्रचारप्रसार संयोजक बुद्धि च्हम्रु तमुले जानकारी दिनुभयो ।

Advertisment