पृथ्वीरुपा माध्यमिक विद्यालयको महायज्ञ पुस १९ देखि हुने

पोखरा, १३ पुस
पृथ्वीरुपा माध्यमिक विद्यालय, रुपा गाउँपालिका–६, रुपा ताल, कास्कीको आयोजनामा यही पुस १९ गतेदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । विद्यालयले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको तयारीबारे जानकारी गराएको छ ।
विद्यालयमा युग सापेक्ष प्राविधिक शिक्षा एवं भौतिक पूर्वाधार विकासका लागि महायज्ञको आयोजना गर्न लागिएको महायज्ञका सह–संयोजक तुलबहादुर गुरुङले जानकारी दिनुभयो । जैविक विविधता, कृषि तथा मत्स्य अनुसन्धानसम्बन्धी विषयलाई अध्यापन गराउने लक्ष्यका साथ महायज्ञ गर्न लागिएको गुरुङले बताउनुभयो ।
महायज्ञ मूल समारोह समितिका अर्का सह–संयोजक रामचन्द्र सापकोटाले सिमसार क्षेत्र नौलो विषय भएकाले यसलाई प्राविधिक विषयका रुपमा अघि बढाउने लक्ष्य लिएको बताउँदै विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार निर्माणका लागि महायज्ञको आयोजना गर्न लागिएको बताउनुभयो । सहसंयोजक सापकोटाका अनुसार महायज्ञमा प्रमुख वाचक पण्डित दीपक पौडेलले मुख्य प्रवचन दिनुहुनेछ ।
महायज्ञबाट झण्डै डेढ देखि दुई करोडसम्म आर्थिक संकलन हुने अपेक्षा गरेको बताउँदै विद्यालयका प्रधानाध्यापक महादेव सुवेदीले विद्यालयमा करिब २०० जना विद्यार्थी अध्ययनरत रहेको पनि जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भद्रबहादुर सुयलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रचारप्रसार संयोजक गोविन्दप्रसाद पंगेनी र आर्थिक संयोजक टिकाराम पंगेनीले विद्यालयमा अंग्रेजी माध्यमबाट समयसापेक्ष शिक्षा दिने योजना समेत रहेको बताउनुभयो ।

Advertisment