रहेनन् मगर भाषाका आदिकवि

कपिलवस्तु, ८ पुस
सडक दुर्घटनामा परी मगर भाषाका आदिकवि जीतबहादुर सिंजालीको निधन भएको छ । आइतबार बिहान दाङको घोराहीबाट रुपन्देहीको बुटवल आउने क्रममा टिपरको ठक्करबाट ९३ वर्षीय मगर आदिकवि जीतबहादुरको घटनास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय, चन्द्रौटा, कपिलवस्तुका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिनुभयो ।
शिवराज नगरपालिका–१, बनकसबासा, चन्द्रौटा पूर्व पश्चिम राजमार्ग खण्डमा सडक पार गर्दा लु १ ख ५४९५ नम्बरको टिपरको ठक्करले उहाँको निधन भएको प्रहरी निरीक्षक उपाध्यायले जानकारी दिनुभयो । दिशा पिसाबका लागि बस रोकेको र सोही क्रममा सडक पार गर्ने क्रममा टिपरले ठक्कर दिएको बसका अन्य यात्रुहरूले बताएका छन् । ठक्कर दिने चालक र टिपरलाई प्रहरीले नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय, गोरुसिंगेमा राखिएको जनाइएको छ । मगर आदिकवि जीतबहादुर शवलाई भने पोष्टमार्टमका लागि बहादुरगञ्ज अस्पताल पठाइएको छ ।


को हुन्, मगर आदिकवि जीतबहादुर ?
मगर भाषाका आदिकवि जीतबहादुर सिंजालीले अर्का मगर आदिकवि सु. रेखबहादुर सारूसँग मिलेर संयुक्त रुपमा “मगर भासाङ ल्हीङ ड टूक्काऊ कीटाब” लेख्नुभएको थियो । पछि, “मगर भासाङ सूरूओ कीटाब” र “ल्हेस्म राहानाङ” कविता संग्रह लेख्नुभएको थियो । मगर आदिकविद्वय जीतबहादुर र सु. रेखबहादुरलाई दाङको घोराहीमा २०५१ सालमा भएको नेपाल मगर संघको पाँचौं राष्ट्रिय महाधिवेशनबाट मगर आदिकविका रुपमा घोषणा गरिएको थियो ।
वि.सं. १९८३ जेठ १८ गते गुल्मीको सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेकमा जन्मिएका मगर आदिकवि जीतबहादुरको स्थायी घर भने स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३, आलमदेवी, कोटाकोट हो । वामपन्थी विचारधाराका आदिकवि जीतबहादुर तत्कालिन राज्यका कारण झण्डै चार दशक लामो समयसम्म बेपत्ता हुँदा मगर समुदायले मरिसकेको ठानेका थिए । तर, पछि दाङको खांग्रा नाकामा भेटिनुभएको थियो । प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका मगर आदिकवि जीतबहादुरका साहित्यिक रचना माक्र्सवादी विचारधाराबाट प्रभावित भएको पाइन्छ । मगर आदिकवि जीतबहादुर २०२६ सालदेखि नेपाल र भारतको नाका क्षेत्रमा मानव बस्ती बसाउने व्यक्तित्व समेत हुनुहुन्छ ।
मगर आदिकवि जीतबहादुर सिंजाली साहित्य प्रतिष्ठानले मगर आदिकवि जीतबहादुरको असामयिक निधनले मगर साहित्यको अग्रज मगर जातिको धरोहर गुमाउनु परेको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफाले शोक विज्ञप्ति जारी गरी राष्ट्रले मातृभाषा योद्धा गुमाएको भन्दै मगर भाषा, साहित्यका लागि ठूलो क्षति भएको उल्लेख गर्नुभएको छ । साथै, मगर साहित्यका अग्रज आदिकवि दुःखद घटनाको उच्च छानविन गरी दोषीमाथि कडा कारबाहीसहित न्यायोचित क्षतिपूर्ति दिलाउन नेपाल सरकारसँग जोडदार माग समेत गरेको छ ।

Advertisment