आदिवासी जनजातिका बारेमा बहस कम भयो ः शान्ता चौधरी

पोखरा, ७ पुस
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा संसदीय दलकी सचेतक शान्ता चौधरीले नयाँ संविधान जारी भएपछि आदिवासी जनजातिका बारेमा बहस कम हुँदै गएको बताउनुभएको छ ।
किरात समुदायको महान् पर्व उधौलीका अवसरमा किरात सेवा समाज, कास्कीले शनिबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक चौधरीले संविधानसभा विघटन भएपछि आदिवासी जनजाति आन्दोलनमा शिथिलता आएको उल्लेख गर्नुभयो । ‘संविधानसभा विघटन भएपछि आदिवासी जनजाति आन्दोलन सेलायो’, उहाँले भन्नुभयो, ‘अहिले आदिवासी जनजातिका बारेमा बहस पनि कम भएको छ ।’
विगतमा समान अधिकारको कुरा गर्दा आफूलाई आदिवासी जनजातिविरोधी भनिएको भन्दै सचेतक चौधरीले आफू कुनै पनि हालतमा आदिवासी जनजातिविरोधी वा थारूविरोधी हुनै नसक्ने जिकिर गर्नुभयो । ‘सबैभन्दा बढी थारू हुनुको पीडा, महिला हुनुको पीडा र गरीब हुनुको पीडा मैले नै भोगेकी छु’, उहाँले भन्नुभयो, ‘म कुनै पनि हालतमा आदिवासी जनजाति विरोधी वा थारू विरोधी हुनै सक्दिनँ ।’
आदिवासी जनजातिहरू रमाइलोमा बढी भुल्ने गर्नाले पछि परेको बताउँदै उहाँले शिक्षामा जोड दिन सके आदिवासी जनजातिले पनि धेरै गर्न सक्ने उल्लेख गर्नुभयो । आदिवासी जनजातिलाई अवसरको खाँचो रहेको औंल्याउँदै सचेतक चौधरीले अधिकार मागेर मात्र नहुने उल्लेख गर्नुभयो । ‘हामीलाई अवसरको खाँचो छ’, उहाँले भन्नुभयो, ‘अवसर पाए हामी पनि गर्न सक्छौं भन्ने थुप्रै उदाहरण छन् ।’


युवा संघ नेपालका केन्द्रीय सचिव पूर्ण Þयोल्मोले आदिवासी जनजाति सधैं परिवर्तनको पक्षमा रहेपनि राज्यले सधैं विभेदमा पारिरहेको उल्लेख गर्नुभयो । आदिवासी जनजातिले पाएका अधिकार पनि वर्तमान सरकारले खोसेको भन्दै Þयोल्मोले आफ्नो भाषा, धर्म र संस्कृति बचाउने कुरा गर्दा जातिवादीको आरोप लाग्ने गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँकी नेतृ भगवती न्यौपाने, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोला, किरात सेवा समाज, कास्कीका सल्लाहकार दीपेन्द्र राई, पूर्वाञ्चल सेवा समाज, पोखराका अध्यक्ष डीबी राई, किरात सेवा समाज, कास्कीका निवर्तमान अध्यक्ष गजेन्द्र सुब्बा, संस्थापक सचिव मनोजकुमार किराँतीलगायतले आदिवासी जनजातिका विभिन्न चाडपर्वमा सार्वजनिक बिदा कटौती गरेर वर्तमान सरकारले आदिवासी जनजातिको संस्कृतिमाथि हस्तक्षेप गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
सो अवसरमा कमलरी प्रथादेखि संघीय संसद्सम्म पुग्न निकै संघर्ष गरेको भन्दै सचेतक चौधरीलाई किरात सेवा समाज, कास्कीका तर्फबाट सम्मान गरिएको थियो । त्यस्तै, बिरामी उपचार सहयोग कोषमा सहयोग गर्ने बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट र पूर्वाधार निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो ।
किरात सेवा समाज, कास्कीका अध्यक्ष लोकेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नवीन राई र उपाध्यक्ष मनकुमार मुखियाले स्वागत गर्नुभएको थियो ।

Advertisment