कृष्ण चरित्रको समापनमा ठूलाथरका ज्येष्ठ नागरिक सम्मानित

गलकोट, ४ पुस
बागलुङको गलकोट नगरपालिका–६, ठूलाथरमा प्रचलित कृष्ण चरित्र नाचको समापन गरिएको छ । ठूलाथरका मगर समुदायमा प्रचलित यस नाच बडा दशैंको महाअष्टमीदेखि सुरु गर्ने प्रचलन छ ।
पहिले मगर समुदायले मात्रै नाच्ने गरे पनि अचेल यो नाचमा दलित समुदाय पनि उत्तिकै सरिक हुने गरेका छन् । मूलतः मगर समुदाय र दलित समुदायको बसोबास रहेको ठूलाथरको जीवन्त संस्कृतिका रुपमा रहेको कृष्ण चरित्र बसाइँसराइँ र वैदेशिक रोजगारीका कारण लोपोन्मुख हुन थालेको छ ।
संस्कृति संरक्षण मञ्च, ठूलाथरले कृष्ण चरित्रको संरक्षणका लागि पहल गरिरहेको छ । त्यति मात्र नभएर मञ्चले ठूलाथरमा प्रचलित ठाडो भाका, यानीमायालगायतको संरक्षणका लागि समेत पहल गरिरहेको मञ्चका अध्यक्ष तारा श्रीसले जानकारी दिनुभयो ।


यसैबीच, मञ्चले कृष्ण चरित्रको संरक्षणका लागि योगदान पु¥याउने विभिन्न व्यक्तित्व एवं ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई अभिनन्दन समेत गरेको छ । सो अवसरमा कृष्ण चरित्रका गुरुबा रनबहादुर पुनलाई संस्कृति संरक्षणमा उल्लेखनीय योगदान दिएको भन्दै अभिनन्दन गरिएको थियो । पुनलाई वरिष्ठ समाजसेवी यामबहादुर श्रीसले सम्मान गर्नुभयो ।


सो अवसरमा ९३ वर्षीय ज्येष्ठ नागरिक मुखिया जगबहादुर श्रीससहित डेढ दर्जन ज्येष्ठ नागरिकहरूलाई वरिष्ठ समाजसेवी श्रीसले दोसल्ला र अभिनन्दनपत्रसहित अभिनन्दन गरिएको थियो । त्यस्तै, नवज्योति (दुर्गा) आधारभूत विद्यालय, ठूलाथरका पूर्व प्रधानाध्यापक कृष्णप्रसाद पाण्डेलाई समेत ठूलाथरको शैक्षिक विकासमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो ।


मञ्चका अध्यक्ष तारा श्रीसको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन युवा समाजसेवी योगेश भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा संगम युवा क्लब, ठूलाथरका अध्यक्ष राजबहादुर पुनलगायतको उपस्थिति रहेको थियो ।

Advertisment