कवि केबी नाम्जालीको ५२ औं जन्मजयन्ती मनाइयो

पोखरा, २ पुस
मगर भाषाका कवि केबी (केशर) नाम्जाली भुरुङ मगरको ५२ औं जन्मजयन्ती गण्डकी प्रदेशको राजधानी पोखरामा विशेष कार्यक्रम गरी मनाइएको छ ।
मगर भाषा प्रतिष्ठान, कास्की शाखाले सोमबार आयोजना गरेको विशेष कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर भाषाको साहित्यिक विकासमा कवि केबी नाम्जालीको महŒवपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । अल्पायुमै कवि केबीलाई गुमाउनु मगर साहित्य जगतकै लागि दुर्भाग्य बनेको उल्लेख गर्दै अध्यक्ष रानामगरले कवि केबीको सम्मानका लागि नेपाल मगर संघ पनि आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।
‘कवि केबीको कृतित्व र व्यक्तित्वलाई अझै व्यापकता दिनु जरुरी छ’, रानामगरले भन्नुभयो, ‘मगर भाषाका लागि कवि केबीले दिएको योगदान सबैका लागि अनुकरणीय छ ।’ कवि केबीका नाममा स्थापित अक्षयकोषको रकम वृद्धिका लागि नेपाल मगर संघ सहयोग गर्न तयार रहेको बताउँदै रानामगरले हरेक वर्ष आयोजना हुने जन्मजयन्ती कार्यक्रममा सम्मान कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
‘कवि केबी (केशर) नाम्जाली भुरुङ मगर स्मृति अक्षयकोष’का संरक्षक एवं चित्रेभञ्ज्याङ–पोखरा सम्पर्क मञ्चका अध्यक्ष क्या. नरेश थापामगरले कवि केबी नाताले आफ्नो भाञ्जा रहेको जानकारी दिँदै परिवारका तर्फबाट अक्षयकोषको रकम वृद्धिका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ, कास्कीका अध्यक्ष पूर्व प्रहरी नायब निरीक्षक चन्द्रप्रकाश थापामगर, नेपाल मगर महिला संघ, कास्कीकी सचिव ईश्वरी थापामगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेम रोकामगर, कवि केबीका बहिनी ज्वाइँ भारतीय सेनाका मेजर थमन थापामगरलगायतले कवि केबीले मगर जातिका लागि मात्र नभइ समग्र नेपाली वाङ्मयको विकासका लागि महŒवपूर्ण योगदान दिएको भन्दै उहाँको योगदानको राज्यले समेत कदर गर्नुपर्ने धारणा राखेका थिए ।
मगर भाषा प्रतिष्ठान, कास्कीका कार्यवाहक अध्यक्ष यामबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसमगर र कार्यसमिति सदस्य कुमार थापामगरले स्वागत गर्नुभएको थियो ।
२०२४ सालमा स्याङ्जाको हरिनास गाउँपालिका–२, मग्याम चिसापानीमा जन्मिएका कवि केबी (केशर) नाम्जाली भुरुङ मगरको वैदेशिक रोजगारीका शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई)मा २०६९ साल जेठ २९ गते अल्पायुमै निधन भएको थियो । कवि केबीका मगर भाषाका दुई कृति ‘मीछास’ (कसिड्डर) र ‘म्हे’ (आगो) प्रकाशित छन् भने ‘हिम टाकुरा’ कविता संग्रह अप्रकाशित छ ।

Advertisment