गण्डकी प्रदेशका सांसद् घर्तीमगरको उपचारका क्रममा निधन

बागलुङ, २७ मंसिर
गण्डकी प्रदेशका सांसद् टेकबहादुर घर्तीमगरको बुधबार राति निधन भएको छ । ४७ वर्षीय सांसद् घर्तीमगरको उपचारको क्रममा भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको परिवारिक श्रोतले बताएको छ ।
एयर एम्बुलेन्सबाट एपोलोे अस्पताल पु¥याइएपछि सांसद् घर्तीमगरलाई अस्पतालको लिभर आइसियुमा राखि उपचार सुरु गरिएको थियो । उहाँको उपचारकै क्रममा निधन भएको हो ।
सांसद् घर्तीमगरको बुधबार राति १ बजे नै अस्पतालका डाक्टरहरुले मृत्यु भएको घोषणा गरेको बताइएको छ । घर्तीमगरलार्ई बिहिबार साँझ ८ बजे दिल्लीबाट नेपाल ल्याइने बताइएको छ । घर्तीमगरको १७ दिनसम्म काठमाडौँ स्थित ग्राण्डी अस्पतालको आईसीयुमा राखी उपचार गरिए पनि थप उपचारको लागि दिल्ली लगिएको थियो ।
घर्तीमगर बागलुङको निर्वाचन क्षेत्र न. २ ‘ख’ मा वामगठबन्धनबाट निर्वाचित सांसद् हुनुहुन्छ । उहाँ कलेजो सम्बन्धी रोगबाट ग्रसित रहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
उहाँ राष्ट्रिय जनमोर्चाको जनवर्गीय संगठन अखिल नेपाल युवक संघ बागलुङको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, सल्लाहकार हुँदै राष्ट्रिय जनमोर्चाको जिल्ला सदस्य भएर काम गर्नुभएको थियो । सांसद् घर्तीमगर हक्की, निडर स्वभावका कारण युवाहरूबीच ज्यादा प्रिय मानिन्थे ।

Advertisment