शहीदको रगतलाई खेर जान दिन्नौं ः नेता सुनिल

हुवास (पर्वत), १८ मंसिर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं प्रतिनिधिसभाका सांसद् देवेन्द्र पौडेल “सुनिल”ले नेपालको राजनैतिक परिवर्तनका लागि जनयुद्ध र जनआन्दोलनमा रगत बगाएका शहीदहरूको रगतलाई खेर जान नदिने प्रतिबद्धता जनाउनुभएको छ ।


जनयुद्ध, जनआन्दोलन तथा विभिन्न संघर्षका क्रममा पर्वत जिल्लाबाट शहादत प्राप्त गरेका शहीदहरू एवं जनयुद्धका शहीद कृष्ण गौतमको १४ औं स्मृति सभालाई सोमबार पर्वतको पैयूँ गाउँपालिका–४, हुवासमा सम्बोधन गर्दै नेकपा नेता सुनिलले शहीदले बगाएको रगतलाई त्यसै खेर जान नदिने प्रतिबद्धता जनाउनुभएको हो । “पर्वतका शहीदहरूले बगाएको रगतलाई त्यसै खेर जान दिने छैनौं”, उहाँले भन्नुभयो, “जनताको बलिदानी इतिहासमा अंकित भएर रहनेछ ।”
शहीदहरूको शहादतले नै देशमा सामन्तवादको अन्त्य गर्न सफल भएको भन्दै नेता सुनिलले शहीदहरूको सपना साकार पार्न निरन्तर अघि बढ्ने उद्घोष गर्नुभयो । जनताको बलिदानीबाट प्राप्त उपलब्धीको रक्षाका लागि कम्युनिष्ट पार्टी एक भएको बताउँदै नेता सुनिलले सत्ता प्राप्ति र स्वार्थका लागि एकता नभएको बताउनुभयो । जनयुद्ध र जनआन्दोलनका उपलब्धी रक्षा गर्दै देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन पार्टी एकता गरिएको उहाँको भनाइ थियो ।
नेकपाका युवा नेता एवं प्रतिनिधिसभाका सांसद् पदम गिरीले कम्युनिष्टको नेतृत्वमा देश स्वाधीन भएको दाबी गर्दै कम्युनिष्टकै नेतृत्वमा देश समृद्ध हुने ठोकुवा समेत गर्नुभयो । शहीदहरूले रगत बगाएकै कारण देशमा संघीयता आएको उल्लेख गर्दै सांसद् गिरीले शहीदहरूप्रति गर्व गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले देशमा भएका विभिन्न खालका विभेदको अन्त्य गर्दै देशलाई समृद्धिको दिशामा अघि बढाउन शक्तिशाली कम्युनिष्ट पार्टीको स्थापना भएको बताउनुभयो ।


कार्यक्रममा नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता रामप्रसाद काफ्ले, नेकपा (क्रान्तिकारी माओवादी)का नेता निश्चल अधिकारी, शहीद कृष्ण गौतमका दाजु उदयराज गौतम, शहीद विजय सुवेदीकी श्रीमती मनरुपा सुवेदी, पुष्पलाल स्मृति प्रतिष्ठान, पर्वतका अध्यक्ष नेत्रलाल बस्याल, हिराबहादुर नेपाली, चित्र गुरुङ, शहीद कृष्ण गौतमकी भतिजी कविता गौतम, भाइ काशीराम गौतम, शहीद विर्खबहादुर गुरुङका छोरा बेनबहादुर गुरुङ र छोरी दुर्गा गुरुङलगायतले शहीदले देखाएको बाटोमा देश र पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखेका थिए ।
कृष्ण गौतम स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नवनिर्मित शहीद स्मृति द्वारको उद्घाटन गरिएको थियो भने शहीद कृष्ण गौतमको शालिक तथा पर्वत जिल्लाबाट जनयुद्ध र जनआन्दोलनमा शहादत भएका एवं बेपत्ता पारिएका योद्धाको शिलालेखको अनावरण समेत गरिएको थियो । त्यस्तै, प्रतिष्ठानद्वारा प्रकाशित शहीद कृष्ण गौतमको स्मृति ग्रन्थ विमोचन गरियो । सो अवसरमा जनयुद्धका क्रममा २०६१ साल मंसिर १७ गते स्याङ्जाको सिर्सेकोट घटनामा तत्कालीन सुरक्षा फौजद्वारा मारिएका शहीदहरू कृष्ण गौतम, विजय सुवेदी, कुविजा पराजुली, मोहनसिंह गाहामगर र खड्ग कुँवर तथा २०५४ साल साउन २६ गते मारिएका शहीद विर्खबहादुर गुरुङको तस्वीरमा माल्यार्पण गरिएको थियो ।


तत्कालीन गाविस अध्यक्ष एवं कांग्रेस कार्यकर्ताको नेतृत्वमा आएको एक समूहले आफ्नै निवासमा शहीद गुरुङको नृशंस हत्या गरेको थियो । भूतपूर्व बेलायती गोर्खा सैनिक गुरुङ स्थानीयमाझ निकै लोकप्रिय हुनुहुन्थ्यो । कसैका आँखामा पनि नबिझाउने स्वभावका गुरुङ तत्कालिन नेकपा (एमाले)का सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो ।
प्रतिष्ठानका अध्यक्ष रेशमलाल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शोभाकान्त पराजुली र सदस्य चोकनारायण न्यौपानेले स्वागत गर्नुभएको थियो ।

Advertisment