६ महिनाकी सियानाको कलेजो प्रत्यारोपणका लागि बेलायतबाट झण्डै साढे ४ लाख सहयोग

पोखरा, १६ मंसिर
जन्मजातै कलेजोमा प्वाल परेर उपचार गराइरहेकी ६ महिनाकी सियाना पुनको कलेजो प्रत्यारोपणका लागि बेलायतबाट झण्डै साढे ४ लाख रुपैयाँ सहयोग भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तान, औल, हालः पोखरा महानगरपालिका वडा नं. २७, लेखनाथ, जरुवानिवासी प्रदीप रन्तिजा पुन र रेश्मा पुनकी पहिलो सन्तान ६ महिनाकी सियानाको कलेजो प्रत्यारोपणका लागि बेलायतमा संकलित सहयोग रकम नेपाल रेडक्रस सोसाइटी, कास्की शाखाका कोषाध्यक्ष एवं लोक तथा दोहोरी गायक सुरेन्द्र गुरुङमार्फत् आइतबार हस्तान्तरण गरिएको छ ।
पुन मगर समाज, बेलायत र म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)को पहलमा संकलित ४ लाख ३४ हजार ७ सय २० रुपैयाँमध्ये आइतबार ३ लाख ७७ हजार ५ सय २० रुपैयाँ हस्तान्तरण गरिएको हो । सो सहयोग रकम सियानाकी हजुरआमा खरिमाया पुनलाई पुन मगर समाज, बेलायतका केन्द्रीय सदस्य गनबहादुर तिलिजा पुनले हस्तान्तरण गर्नुभयो । ५७ हजार २ सय रुपैयाँ भने यसअघि नै सियानाको परिवारलाई पठाइसकिएको पुनले जानकारी दिनुभयो ।


पुनका अनुसार नाइस टेलिभिजनमा प्रसारित कार्यक्रम “गामबेंशीका भाकाहरू”मा सियानाकी आमा रेश्माको अन्तरवार्तामार्फत् ६ महिनाकी शिशु सियानाको बारेमा थाहा पाएपछि बेलायतमा सहयोग रकम संकलन अभियान सञ्चालन गरिएको थियो । जसमा पुन मगर समाज, बेलायतले १ हजार ५ सय ४० स्टर्लिङ पाउण्ड र मोना, आईसीसीले १ हजार ५ सय स्टर्लिङ पाउण्ड संकलन गरेको थियो । समाजका अध्यक्ष तेजबहादुर राम्जाली पुन, उपाध्यक्ष बलबहादुर पुर्जा पुन, सचिव तुलचन्द्र तिलिजा पुन र कोषाध्यक्ष ललित गर्बुजा पुनले सल्लाह गरेर सहयोग संकलन अभियान सञ्चालन गरेको सदस्य पुनले जानकारी दिनुभयो ।
सो अवसरमा पुनले नानीको उपचारमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग संकलन गरिएको जानकारी दिनुभयो । साथै, उहाँले सियाना नानीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभयो । लोक तथा दोहोरी गायक कुमार पुन र सियानाकी फुपू उमाया पुनले सियानाको उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
जन्मिएको १९ दिनपछि निरन्तर विभिन्न अस्पतालमा उपचार गराइरहेकी सियाना हाल भारतको सर गंगालाल अस्पतालमा उपचाररत छिन् । सियानाकी फुपू उमायाका अनुसार सियानालाई सुरुमा जन्डिस भएको थियो र मणिपाल शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पु¥याइएको थियो । पछि पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र फिष्टेल अस्पतालमा उपचार हुन नसकेपछि हालै मात्र भारत पु¥याइएको उहाँले बताउनुभयो ।
सर गंगालालका चिकित्सकका अनुसार सियानाको कलेजो प्रत्यारोपणका लागि शल्यक्रिया खर्च मात्रै २० लाख भारतीय रुपैयाँ लाग्छ । सियानाका बाबु प्रदीप रोजगारीका लागि चेक गणतन्त्र गएको दुई महिना मात्र भयो । सियानाको उपचारका लागि उनकी आमा रेश्मा, हजुरबुबा र हजुरआमा पनि भारतमै छन् ।

Advertisment