अब “उहिलेको पोखरा” एकै ठाउँ हेर्न पाइने

पोखरा, १२ मंसिर
पोखराको चिनारीका रुपमा पुराना फोटोहरुको संकलन गरि संग्रहालय निर्माण गरेका सुनिल उलकले इतिहास नमर्ने बताउनुभएको छ । दुनियाँमा पर्यटकिय क्षेत्रको पहिचान बनाउँदै गएको पोखरालाई अझै अगाडी हेर्न चाहनेहरुका लागी त्यसलाई उहाँले नौलो र दुर्लभ अवसर भएको बताउनुभएको छ ।
आज एक कार्यक्रमका बीच स्व. जगन्नाथ उलक स्मृति कोषद्वारा स्थापित तस्वीरहरूको प्रदर्शनी कक्षको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै प्रमुख जिसीले उहिलेको पोखरालाई चिनाउने प्रदर्शनी कक्षको थप विकासका लागि महानगरपालिका सकारात्मक र प्रतिबद्ध रहेको बताउनुभयो । महानगर प्रमुख जिसीले “उहिलेको पोखरा” नामक फोटो प्रदर्शनी कक्षमा पोखरालाई पछाडी फर्केर हेर्ने अवसर भएको भन्दै यसले पर्यटन विकासमा समेत थप टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले तस्वीर संग्रहालयको छुट्टै भवन र अक्षयकोष स्थापनाका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
प्रदर्शनी कक्ष राखिएको घरका घरधनी एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरालाई चिनाउने तस्वीरहरूको संग्रहालयका लागि आफूले पनि केही गर्न पाएकोमा खुशी लागेको बताउनुभयो । पोखराको पूरानो इतिहासलाई नयाँ पुस्तासम्म पु¥याउन पूराना तस्वीरहरूले सहयोग पु¥याउने उहाँको भनाइ छ । वरिष्ठ कलाकार दुर्गा बराल “वात्स्यायन”ले पूरानो पोखरालाई बुझाउन तस्वीर सजिलो माध्यम भएको बताउनुभयो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।
प्रदर्शनी कक्षमा फोटो पत्रकार स्व. जगन्नाथ उलक र विभिन्न फोटोग्राफरले खिचेका १ सय भन्दा बढी पोखराका पूराना तस्वीरहरू राखिएका छन् ।

Advertisment