गेसो अभियन्ता गुरुङद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

पोखरा, ११ मंसिर
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का संस्थापक सभापति पदमबहादुर गुरुङले तेश्रो आन्दोलनको घोषणा गर्नुभएको छ । मंगलबार स्याङ्जाको साल्मेडाँडामा बन्दै गरेको विभिन्न युद्धमा मारिएका गोर्खाली सैनिकहरुको सम्झनामा बन्दै गरेको समाधीस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले सो घोषणा गर्नुभएको हो ।
बेलायतले गोर्खाहरुलाई गर्दै आएको भेदभावहरुको फेहरिस्त रहस्योद्घाटन गर्दै उहाँले भन्नुभयो, “पहिलो र दोस्रो विश्वयुद्धमा ६० हजारभन्दा बढी गोर्खालीहरुलाई किन मारियो त्यसको हिसाब खोज्छौँ” । गेसोको पहिलो आन्दोलन सफल भएको र दोश्रो आन्दोलनले पनि छिट्टै साकार रुप लिने जानकारी दिँदै तेश्रो आल्दोलन सुरु गरेको उहाँले बताउनुभयो ।
पहिलो र दोश्रो आन्दोलन शान्तिपूर्ण तवरमा भएको बताउँदै उहाँले भन्नुभयो, “तेश्रो आन्दोलन पनि शान्तिपूर्ण नै हुनेछ” । यो आन्दोलन नेपालको राष्ट्र, राष्ट्रियता र सार्वभौमिकतामाथि आँच पुग्ने गरी ब्रिटिस साम्राज्यवादले गरेको अतिक्रमणमाथि प्रश्न उठाईने उहाँले बताउनुभयो । नेपालका मंगोल नश्लका जातिहरूको मौलिक धर्म, संस्कार र संस्कृतिलाई पूर्णरुपमा नष्ट पारिदिएको प्रश्न पनि उठाउनेछ ।
आफ्नो अभियान सुरु भएको जानकारी दिँदै तेस्रो चरण अन्तर्गत एक समिति गठन गरेर पहिलो र दोश्रो विश्वयुद्धलगायत अनेकौं क्षेत्रीय युद्धमा ज्यान गुमाएकाहरूको खोजी गर्ने सो अवसरमा बताउनुभयो । के कारणले नेपालीहरुले बेलायत गएर लड्नुपरेको थियो भन्ने विषयमा प्रतिवेदन तयार गर्ने उहाँको भनाई छ ।
गेसोको तेश्रो चरणको आन्दोलन कुनै व्यक्ति र जाति, समुदायको सवाल नभै सबै नेपाल र नेपालीको सार्वभौमिकता र स्वाभिमानसँग जोडिएको विषय भएकोले सबै नेपालीहरुलाई आन्दोलनमा सहयोग गर्न गुरुङले आग्रह गर्नुभएको थियो । एक अर्को प्रसंगमा उहाँले निर्माणाधीन गोर्खा स्मारकको पहिलो चरणको निर्माण कार्य आगामी जेठ महिनासम्ममा सम्पन्न हुने जानकारी पनि दिनुभयो ।
गेसो पश्चिमाञ्चल क्षेत्रीय समितिले आयोजना गरेको पत्रकार सम्मेलनको अध्यक्षता गेसोका क्षेत्रीय सभापति हर्कबहादुर पुनमगरले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन तमु प्ये ल्हु संघ, एकाइ कार्यसमिति, स्याङ्जाली तमु समाज, पोखरा–२६ ले गरेको थियो ।

Advertisment