टप ७ मा टुंगियो नीलिमाको नेपाल आइडल यात्रा, सबैलाई रुवाइन्

काठमाडौं, ८ मंसिर
एपीवान एचडी टेलिभिजनद्वारा सञ्चालित “नेपाल आइडल सिजन २” चलिरहँदा शुक्रबारदेखि अब टप ६ प्रतियोगी मात्र प्रतिस्पर्धामा रहेका छन् ।
टप ७ बाट एक मात्र गोल्डेन माइक बिजेता महिला प्रतियोगी पोखराकी नीलिमा थापामगर शुक्रबार प्रतिस्पर्धाबाट आउट हुनुप¥यो । गोल्डेन माइक बिजेता नीलिमाको यात्रा टप ७ सम्म मात्र रह्यो भने अर्का गोल्डेन माईक बिजेता चितवनका मीनराज पौडेल पहिले नै बाहिरिएका थिए । मीनराज बाहिरिनुमा पनि उनलाई स्वास्थ्यले साथ नदिएर बाहिरिएका थिए भने अहिले नीलिमाको पनि स्वास्थ्यले साथ नदिएर आफू बाहिरिनु परेको प्रतिक्रिया दिएकी छन् ।
गएको हप्ता एक्कासी बिरामी परेकी नीलिमालाई डाक्टरले केही समय आराम गर्न भनेका थिए । त्यसैको असरले गर्दा उनले उचित अभ्यास गर्न सकेकी थिइनन् । सुमधुर स्वरकी धनी नीलिमा बाहिरिने अपेक्षा गरेका थिएनन्, उनका शुभचिन्तकहरुले ।
पोखरामा सहयोग समितिको अभियान
नीलिमालाई नेपाल आइडल बनाउन उनको गृहनगरी पोखरामा नीलिमा थापामगर नेपाल आइडल बनाऊँ सहयोग समिति नै गठन भएको थियो । सहयोग समितिमार्फत् विभिन्न ठाउँमा सांगीतिक कार्यक्रम समेत भएका थिए । शुक्रबार मात्र पनि उनले एसईई परीक्षा दिएको विद्यालय पोखरा एकेडेमी, बाटुलेचौरमा विशेष सांगीतिक कार्यक्रम भएको थियो ।
सो कार्यक्रममा सहयोग समितिका संयोजक गायक एवं संगीतकार विनित जोजिजू, उषा गुरुङ, इशानी दानकुटी, विकास थापामगर, रोहन थापामगरलगायतले आ–आफ्नो सांगीतिक प्रस्तुती राखेका थिए । सो अवसरमा विद्यालयका संस्थापक÷प्राचार्य महेन्द्रबहादुर गुरुङले नीलिमा बहुप्रतिभाशाली विद्यार्थी भएको उल्लेख गर्नुभयो । नीलिमाले नेपाली संगीतका लागि धेरै गर्न सक्ने बताउँदै प्राचार्य गुरुङले विद्यालयको तर्फबाट सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक उदयबहादुर बस्नेत, जुनियर सेक्सन इञ्चार्ज एवं हिमालय क्लबका अध्यक्ष मोहन थापा, सहयोग समितिका सचिव सुरज थापामगरलगायतले नीलिमालाई नेपाल आइडल बनाउन सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।


सहयोग समितिका संयोजक विनित जोजिजूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहकोषाध्यक्ष सानु जोजिजू र सहसंयोजक रुद्र श्रीसमगरले स्वागत गर्नुभएको थियो । यसअघि, तनहुँको दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा पनि नीलिमालाई नेपाल आइडल बनाउन विशेष सांगीतिक कार्यक्रम सम्पन्न भएको थियो ।
नीलिमा नेपाल आइडलबाट बाहिरिएपछि सहयोग समितिका संयोजक विनित जोजिजूले नेपाल आइडलबाट बाहिरिएपनि नीलिमाले नेपाली संगीतका लागि धेरै गर्न सक्ने बताउनुभयो । नेपाल आइडलजस्तो प्रतिष्ठित कार्यक्रममार्फत् नीलिमाले लाखौं शुभचिन्तक कमाउन सफल भएको भन्दै संयोजक जोजिजूले नीलिमाका लागि आगामी दिन अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । नीलिमालाई नेपाली संगीत क्षेत्रमा अघि बढाउन आफूहरूको निरन्तर साथ र सहयोग रहने पनि उहाँले बताउनुभयो ।

Advertisment