भारतीय नागरिकसहित दुई अवैध विदेशी मुद्रा कारोबारी समातिए

पोखरा, ७ मंसिर
अवैध रुपमा विदेशी मुद्राको कारोबार गर्ने भारतिय नागरिक सहित एक नेपाली महिलालाई कास्की प्रहरीले विहीबार पक्राउ गरेको छ । पक्राउ गर्नेमा भारत बम्वई महाराष्ट्रका बिनायक कुमार बाबुलाल शाह र काठमाण्डौ महानगरपालिका ३५ की चन्दा थापा रहेका छन । प्रहरीले उनीहरुको साथबाट अमेरिकी डलर, भारतीय रुपैया, इङ्ग्ल्याण्डको पाउण्ड तथा युरो गरी ३१ लाख २८ हजार ७ सय ९ रुपैयाँ बरामद गरेको छ । पोखरा लेकसाइडको एक होटलबाट वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका शाह र थापाको साथबाट प्रहरीले नेपाली रुपैया २४ हजार ८ सय ५, भारतीय रुपैया २ हजाको नोट ४३ थान, भारतीय रुपैया ५ सयको ११ थान, भारतीय रुपैया सयको ९० थान, अमेरिकन डलर सयको १ सय ९७ थान, अमेरिकी डलर ५० को ५ थान, अमेरिकी डलर २० को २ थान, अमेरिकी डलर १० को एक थान, युरो ५ सयको ४ थान, युरो ५० को ७ थान, इङ्ग्लयाण्डको पाउण्ड ५ को दुईथान नोट बरामद गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिनुभयो ।
डलर संगै उनीहरुको साथबाट डेल कम्पनीको ल्यापटप १ थान, एम आइ कम्पनीको एण्ड्रोइड मोवाइल एक थान, विभिन्न बैङकको एटिएम ६ थान, विभिन्न बैङकको चेकबुक ४ थान, सोनी कम्पनीको पेन्ड्राइभ एक थान र शाह र थापाको राहदानी एक एक थान समेत बरामद गरेको छ । पक्राउ परेको उननीहरुलाई राजश्व अनुसन्धान विभाग काठमाण्डौ पठाइएको प्रहरी प्रवक्ता गुरुङले बताउनुभयो ।

Advertisment