पोखरा, ७ मंसिर
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले श्रमजीवि पत्रकारहरू पनि सामूहिक उत्पादनमा लाग्नुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ कास्की शाखाको १४ औं साधारणसभा तथा सम्मान कार्यक्रमको आज उद्घाटन गर्दै प्रमुख जिसीले थोरै थोरै रकम गरेर भएपनि पत्रकारहरू सामूहिक उत्पादनमा लाग्नुपर्नेमा जोड दिनुभयो । “पत्रकारहरुलाई टिक्ने कसरी भन्ने चिन्ता छ”, महानगर प्रमुख जिसीले भन्नुभयो, “टिक्ने आधार खोज्न महानगरपालिका साथ दिन तयार छ ।” उहाँले पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन महानगर सधैं साथमा रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
स्मार्ट सिटी बन्नका लागि हरेक क्षेत्र स्मार्ट बन्नुपर्ने बताउँदै महानगर प्रमुख जिसीले पोखरालाई राम्रो बनाउनका लागि सबै क्षेत्रको साथ आवश्यक रहेको बताउनुभयो । एक अर्को प्रसंगमा फेवा ताल अतिक्रमणबारे सर्वोच्च अदालतको आदेश जारी भइसकेको बताउँदै उहाँले फेवा ताल बचाउन महानगरले कोही कसैसँग गलत सम्झौता नगर्ने उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले महासंघको केन्द्रीय साधारणसभा कास्कीमा गर्न इच्छुक रहेको बताउँदै सबैको साथ र सहयोग पाए कास्कीमै केन्द्रीय साधारणसभा गर्ने जानकारी गराउनुभयो । पत्रकारिता क्षेत्रको कमजोरीबारे समीक्षा गरेर अघि बढ्नुपर्ने बताउँदै अध्यक्ष आचार्यले पत्रकारिता क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्व सभासद् राजकाजी गुरुङ “करण”, गण्डकी प्रदेशका सांसद्द्वय रामजी बराल “जीवन” र इन्द्रधारा विष्ट, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, कास्की जिल्ला सल्लाहकार बद्रीविनोद प्रतीक, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीलगायतले पत्रकारिता क्षेत्रको विकासका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ कास्की शाखालाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा प्रदेश सांसद् इन्द्रधारा विष्ट, प्रदेश सांसद् मीना गुरुङ, पत्रकार राजु भण्डारी, गण्डकी मेडिकल कलेजका मेडिकल सुपरिटेण्डेण्ट डा. टुमाया घले, नेपाल पर्यटन बोर्डका सूर्य थपलिया, एक्स्पर्ट एजुकेशनका रमेश थापा, फोटो पत्रकार सुदर्शन रञ्जित, रामचन्द्र शर्मा, गणेशबहादुर थापा, सन्तोष घिमिरे, एनआईसी एसिया बैंकका दीपेन्द्र शर्मा, हरियो वन कार्यक्रमका देवराज गौतम, होटल टाइम्सका सञ्चालक इन्द्र पौडेल, आरोग्य धाम हस्पिटलका डा. विष्णु चापागाईं, पोखरा इन्टरनेटका सरोज कोइराला, बाबा फाउण्डेशनका दिलीपराज श्रेष्ठ र उद्योगपति गणेशबहादुर श्रेष्ठ सम्मानित हुनुभएको हो ।
नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो भने महिला उपाध्यक्ष विमला भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । साधारणसभाले प्राप्त सुझावसहित सचिव रामप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष सञ्जयकुमार मल्लद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
श्रमजीवि पत्रकार पनि सामूहिक उत्पादनमा लाग्न आवश्यक ः महानगर प्रमुख जिसी
७ मंसिर २०७५, शुक्रबार
1196

Advertisment