तमुस्यो रि च्हमी परिवारको देउसीभैलोबाट संकलित रकम आगलागी पीडित क्षेत्रीको परिवारलाई

पोखरा, २७ कात्तिक
कास्कीको मादी गाउँपालिका वडा नं. ७, छाचोकका आगलागी पीडित दुर्गादेवी क्षेत्रीको परिवारलाई तमुस्यो रि च्हमी परिवार र मिलन ट्रष्ट नेपालले संयुक्त रुपमा आर्थिक सहयोग गरेको छ । तमुस्यो रि च्हमी परिवारको देउसीभैलो कार्यक्रमबाट संकलित रकमको १२ हजार र मिलन ट्रष्ट नेपालको तर्फबाट ५ हजार गरि संयुक्त रुपमा १७ हजार रुपैयाँ मंगलबार एक कार्यक्रमका बीच मिलन ट्रष्ट नेपालका अध्यक्ष समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले पीडित दुर्गादेवी क्षेत्रीलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।
सोही अवसरमा बोल्दै तमुस्यो रि च्हमी परिवार तथा मिलन ट्रष्ट नेपालका अध्यक्ष समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले पीडित परिवारको घर पुनर्निर्माणका लागि आवश्यक जस्तापाता आफुले व्यक्तिगत रुपमा सहयोग गर्न बताउनुभयो । ‘चाहे जति सहयोग गर्न नसकेपनि मेरो तर्फबाट केही सामग्री उपलब्ध गराउनेछु’, मादी गाउँपालिका–७ का वडा अध्यक्ष लालबहादुर गुरुङले आफूसँग सम्पर्क गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘घर बनाउदा लाग्ने सम्पूर्ण जस्तापाता मैले व्यहोर्नेछु ।’ वडाध्यक्ष गुरुङले तमुस्यो रि च्हमीलाई सामाजिक कार्यमा अग्रसर भएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत उहाँले सहयोग गर्ने बताउनुभयो ।
मादी गाउँपालिका–७ का वडा अध्यक्ष लालबहादुर गुरुङले क्षेत्रीको घर पुनर्निर्माणका लागि विभिन्न संघ संस्थाबाट आर्थिक तथा भौतिक सहयोग आइरहेको बताउनुभयो । अब बन्ने घरको नक्सा तयार भइसकेको बताउँदै गुरुङले पुनर्निर्माणको काम छिट्टै सुरु गरिने उल्लेख गर्नुभयो । उहाँका अनुसार क्षेत्रीको घर बडा दशैंको दिन आगलागी भएर १५ लाख बराबरको धनमालको क्षति भएको थियो । उक्त परिवारमा ८ जना रहेको गुरुङले बताउनुभएको थियो ।
त्यस्तै, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष याम गुरुङले आगलागीबाट घरबार बिहिन बन्न पुगेका क्षेत्री परिवारको घर पुनर्निर्माणका लागि सबैले हातेमालो गर्नुपर्ने उल्लेख गर्दै सहयोगका लागि अपिल समेत गर्नुभएको थियो । सो अवसरमा परिवारका सल्लाहकार एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी प्रदेश तदर्थ समितिका अध्यक्ष शंकर ‘विरही’ गुरुङले सहयोगले आगलागीपीडितका लागि महŒवपूर्ण राहत मिल्ने बताउनुभयो । तमुस्यो रि च्हमी परिवारको अध्यक्ष गौरी तमुस्योको अध्यक्षतामा सम्पन्न भएको सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी कास्कीका कोषाध्यक्ष एवं परिवारका संस्थापक सल्लाहकार सुरेन्द्र गुरुङले गर्नुभएको थियो ।

Advertisment