दमौलीमा डकुमेन्ट्री फिल्म “कौरा”को पहिलो प्रदर्शन

दमौली, २८ कात्तिक
ऐतिहासिक मगरात क्षेत्र (गण्डकी)मा लोकप्रिय मौलिक नाच “कौरा”को विषयवस्तुमा निर्माण गरिएको डकुमेन्ट्री फिल्म “कौरा”को पहिलो प्रदर्शन तनहुँको दमौलीमा सम्पन्न भएको छ ।
मेनोको फिल्मस् एण्ड मिडिया हाउसको प्रस्तुतीमा निर्माण गरिएको सो डकुमेन्ट्री फिल्म “कौरा”को दमौलीको अनसन चौतारीस्थित खुल्ला मञ्चमा भव्य दर्शकका बीच प्रदर्शन गरिएको हो । पहिलो प्रदर्शनको उद्घाटन नेपाल मगर संघ, तनहुँका अध्यक्ष सिद्धान्त थापामगरले गर्नुभएको थियो ।


राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालको संरक्षकत्वमा निर्माण गरिएको “कौरा” डकुमेन्ट्री फिल्मको लेखन तथा निर्देशन हर्क आलेमगरले गर्नुभएको हो भने सहायक निर्देशन अशोक आलेमगरले गर्नुभएको हो । फिल्म शैलीमा निर्माण गरिएको डकुमेन्ट्रीको छायाङ्कन भने “कौरा” नाचको उत्पत्ति भएको मानिने तनहुँ जिल्लाका विभिन्न ठाउँमा गरिएको छ ।
मगर जातिको मौलिक नाच “कौरा”को ऐतिहासिक पक्षलाई उजागर गर्ने प्रयासस्वरुप डकुमेन्ट्रीको निर्माण गरिएको निर्देशक आलेमगरले जानकारी दिनुभयो । डकुमेन्ट्रीमा रविन्द्र थापामगर, सबिता रानामगर “नाना”, पदम थापामगर, पवन रानामगर, सरुना मगरलगायतले अभिनय गरेका छन् ।
“कौरा” नाच विशेषगरी, ऐतिहासिक मगरात क्षेत्र तनहुँलगायत स्याङ्जा, पाल्पा, नवलपरासी क्षेत्रमा विशेष प्रचलित छ । “कौरा” शब्द मगर भाषाको “कान राहा” शब्दबाट व्युत्पत्ति भएको मानिन्छ । “कौरा” नाचको संरक्षण र नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले डकुमेन्ट्रीको निर्माण गरिएको निर्माण संयोजक तारामाया थापामगरले जानकारी दिनुभयो ।

Advertisment