अल्पायुमै अस्ताए चलचित्रकर्मी सारू

पोखरा, २८ कात्तिक
एक दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय चलचित्रकर्मी सन्तोष सारूमगरको निधन भएको छ । पाँचथर घर भई पोखरालाई कर्मथलो बनाउँदै आएका गृह जिल्लामै निधन भएको हो । केही दिन अगाडि आफ्नी दिदीको हातबाट भाइटीका लगाउन पाँचथर पुगेका उनको टीका लगाएकै साँझ निधन भएको जनाइएको छ ।
पारिवारिक स्रोतका अनुसार भाइलाई भाइटीका लगाउन माइत आएकी दिदीलाई टीका लगाइसकेपछि बेलुकी पख घर छोडेर फर्किने क्रममा उनको छाती दुखेको थियो र साँझ घरमा छाती दुखेको छ भनी उनी सुतेका थिए तर, उनी कहिल्यै नउठ्ने गरी विदा भइसकेको अवस्थामा पाएको परिवारजनले जनाएका छन् ।
सुतेको ठाउँमा उनको मुखबाट फिज आएको देखेपछि परिवारले उनलाई अस्पताल पु¥याए तर, डाक्टरले उनको हृदयघातका कारण मृत्यु भएको जानकारी दिएका थिए ।
सन्तोष सारूमगर कुशल नृत्यकार, कोरियोग्राफर, सम्पादक, सिनेमाटोग्राफर तथा मगर चलचित्रकर्मी संघ कास्कीको जिल्ला सदस्य थिए । नृत्यबाट चलचित्र जगतमा आफ्नो करिअर बनाएका उनले छोटो समयमै आफूलाई प्राविधिक लाइनमा समेत अब्बल बनाएका थिए । स्वर्गीय सारूको पोखराको रामघाटमा मगर परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । उनको निधनप्रति प्राचीन नेपाल, मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीलगायतका संघसंस्थाले दुःख व्यक्त गरेका छन् ।
मगर चलचित्र जगतका लागि २०७५ सालको कात्तिक महिना निकै दुःखद् बन्यो । गत कात्तिक ६ गते मगर चलचित्रकी नायिका तथा मगर विद्यार्थी संघ पाल्पाकी निवर्तमान अध्यक्ष २१ वर्षीया रूपा थापा मगरको विवाहको दुर्गान फर्काएर घर फर्किने क्रममा स्कुटर दुर्घटनामा ज्यान गएको थियो ।

Advertisment