मिलन फाउण्डेशनद्वारा पाल्पाको महेन्द्र आधारभूत विद्यालयमा न्यानो कपडा वितरण

फोक्सिङकोट (पाल्पा), २७ कात्तिक
दुर्गम क्षेत्रको शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा सामाजिक रुपमा क्रियाशील संस्था मिलन फाउण्डेशन नेपालले पाल्पाको रम्भा गाउँपालिका–२, फोक्सिङकोट, सुरुमडाँडास्थित महेन्द्र आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरेको छ ।
सोमबार आयोजित कार्यक्रममा फाउण्डेशनका संरक्षक समाजसेवी दुर्गा गुरुङ “मिलन”, कार्यवाहक अध्यक्ष देवी गुरुङलगायतले सो विद्यालयमा अध्यापनरत शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभयो । जस अन्तर्गत स्वीटर, टोपी, ट्राउजरलगायतका न्यानो कपडा वितरण गरिएको थियो । सो अवसरमा विद्यालयका अपाङ्गता भएका पूर्व विद्यार्थी अमरसिंह घर्तीमगरलाई पनि न्यानो कपडा वितरण गरियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका फाउण्डेशनका संरक्षक समाजसेवी दुर्गा गुरुङ “मिलन”ले आफूले कसैसँग सहयोग नमागीकन आफ्नै पसिनाले कमाएको पैसाबाट सामाजिक कार्य गर्दै आएको बताउनुभयो । विद्यालयलाई गरिएको सहयोगलाई सदुपयोग गर्न आग्रह गर्दै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावकले पनि विशेष चासो दिनुपर्ने बताउनुभयो ।
फाउण्डेशनकी कार्यवाहक अध्यक्ष देवी गुरुङले नेपालका दुर्गम क्षेत्रमा निःस्वार्थ भावले संस्थाले विभिन्न सहयोग गर्दै आएको बताउँदै सहयोगको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर सिंजालीले समाजसेवी गुरुङले विद्यालयलाई गरेको सहयोग अतुलनीय रहेको भन्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा राखेको बताउनुभयो ।


सो अवसरमा विद्यालयमा समाजसेवी गुरुङद्वारा स्थापित मिलन पुस्तकालयकी सदस्य मीना सिंजाली, प्रधानाध्यापक नारायण मसराङ्गीलगायतले समाजसेवी गुरुङको सहयोगले विद्यालयको विकासका लागि धेरै महत्वपूर्ण टेवा मिलेको बताउनुभयो । मिलन पुस्तकालयका अध्यक्ष दुर्गाबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक रनबहादुर कामु र पूर्व प्रधानाध्यापिका कलिसरा रानाले स्वागत गर्नुभएको थियो ।


फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ “मिलन” र अध्यक्ष गंगा गुरुङले न्यानो कपडा वितरणका लागि सहयोगको प्रायोजन गर्नुभएको हो । फाउण्डेशनले यसअघि पनि सो विद्यालयमा युरोगार्ड, एक थान कम्प्युटर, पुस्तकालयका लागि पुस्तकहरू प्रदान गर्नुका साथै, विद्यालय परिसरभित्र ३ सय वटा दालचिनीका बिरुवा वृक्षारोपण समेत गरेको छ ।

Advertisment