महिला उद्यमी संघ, कास्कीद्वारा विभिन्न व्यक्तित्वलाई स्वागत तथा सम्मान

पोखरा, २५ कात्तिक
महिला उद्यमी संघ नेपाल, कास्कीले विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई स्वागत एवं सम्मान गरेको छ । नेपालीहरूको दोस्रो महान् चाड तिहारको पूर्व सन्ध्यामा संघले विभिन्न क्षेत्रमा महŒवपूर्ण योगदान दिएका व्यक्तित्वहरूलाई स्वागत एवं सम्मान गरेको हो ।
सो अवसरमा मिलन फाउण्डेशन नेपालका संरक्षक एवं पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’, हाल कुवेतमा कार्यरत सामाजिक अभियन्ता भीम गुरुङ, हङकङकी सामाजिक अभियन्ता कमला गुरुङ, अर्की सामाजिक अभियन्ता लक्ष्मी गुरुङ, फोटो पत्रकार मणिलाल गुरुङ र पत्रकार रूद्रबहादुर श्रीसलाई महिला उद्यमीहरूद्वारा उत्पादित फूलमाला र मायाको चिनोद्वारा स्वागतसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मान गर्दैै महिला उद्यमी संघ नेपाल, कास्कीकी अध्यक्ष काशी गुरुङले सामाजिक व्यक्तित्वहरूलाई स्वागत एवं सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो । महिला उद्यमी संघ कास्कीले महिलाहरूलाई स्वरोजगार बनाउन विभिन्न उद्यमका लागि प्रोत्साहित गरिरहेको बताउँदै अध्यक्ष गुरुङले महिला उद्यमीहरूद्वारा उत्पादित हस्तकला तथा अन्य सामानहरू विदेश निर्यातका लागि पहल गरिरहेको उल्लेख गर्नुभयो । उपाध्यक्ष पार्वती पौडेल रेग्मीले संघलाई अघि बढाउनका लागि सबैको सहयोग आवश्यक पर्ने बताउँदै शुभेच्छुकहरूको सद्भाव र साथले अघि बढ्न सहज हुने धारणा राख्नुभयो ।
सम्मान ग्रहण गर्दै समाजसेवी एवं मिलन फाउण्डेशन नेपालका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ले आफूहरूलाई गरेको सम्मानप्रति धन्यवाद व्यक्त गर्दै सक्दो सहयोग गर्ने वचन दिनुभयो । सामाजिक अभियन्ता कमला गुरुङले आफूहरू परदेशमा भएपनि महिला उद्यमी संघको विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । सामाजिक अभियन्ता भीम गुरुङले परदेशमा भएपनि नेपालका हरेक गतिविधिहरू नियाल्ने गरेको बताउँदै महिला उद्यमीहरूको जोश र जाँगरलाई सम्मान गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्की सामाजिक अभियन्ता लक्ष्मी गुरुङले महिलाहरू चुलोचौकोमा मात्र सीमित हुन नहुने बताउँदै उद्यमशील बन्नु सराहनीय कार्य भएको बताउनुभयो । सो अवसरमा सक्रिय महिला उद्यमी किरण गुरुङले सम्मान गर्नुभएको थियो ।

Advertisment