अवार्ड बिजेतालाई मिलन डी.जी. इन्टरनेशनलको बधाई

पोखरा, २० कात्तिक
मिलन डी.जी. इन्टरनेशनल प्रालिको पहिलो प्रस्तुतीमा निर्मित गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘क्यु प्ह्रो छे’ अर्थात् ‘भेडी गोठाले’का अवार्ड बिजेतालाई एक कार्यक्रमका बीच सम्मान एवं बधाई ज्ञापन गरिएको छ ।


मंगलबार आयोजित कार्यक्रममा संयुक्त राज्य अमेरिकामा सम्पन्न चलचित्र महोत्सवमा उत्कृष्ट नायक र दर्शक छनौट अवार्ड जित्न सफल चलचित्र ‘भेडी गोठाले’का नायक राजेश गुरुङ, निर्देशक सुवास गुरुङलगायतलाई बधाई ज्ञापनसहित सम्मान गरियो । कार्यक्रममा प्रमुख अतिथि मिलन ट्रष्टकी संरक्षक सावित्रीकुमारी गुरुङले सम्मान गर्नुभयो । सो अवसरमा उत्कृष्ट नायकका रुपमा अवार्ड जित्न सफल नायक राजेश गुरुङलाई अवार्ड हस्तान्तरण समेत गरिएको थियो ।
चलचित्र ‘भेडी गोठाले’का सह–निर्देशक दिनेश गुरुङ, छायाँकार प्रकाश गुरुङ ‘कास’, कलाकारहरू सनम गुरुङ, गौरी गुरुङलगायतलाई सम्मान गरियो । कार्यक्रममा कलाकारहरूले आ–आफ्ना अनुभूति समेत राखेका थिए । सो अवसरमा मादी गाउँपालिका वडा नं. ७, कास्कीका वडाध्यक्ष लालबहादुर गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी प्रदेश तदर्थ समितिका अध्यक्ष शंकर विरही गुरुङ, तमु सञ्चारकर्मी संघ नेपालका केन्द्रीय सदस्य मनलाल गुरुङ ‘मणि’, मिलन फाउण्डेशन नेपालकी आर्थिक संयोजक धनकुमारी गुरुङ, तमुस्यो रि च्हमी परिवारकी कोषाध्यक्ष पुनम गुरुङ, स्ट्रिम नेपालकी बालकाशी गुरुङ, गोर्खाली रेडियोकी स्टेशन म्यानेजर खिमा गुरुङलगायतले बधाई तथा शुभकामना दिएका थिए ।
चलचित्र ‘भेडी गोठाले’को कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’ हुनुहुन्छ भने निर्माताहरूमा विक्रम गुरुङ (हङकङ), विजया गुरुङ (हङकङ), देउकी सिंजाली ‘दिपिका मिलन’ र देउकुमारी गुरुङ ‘अञ्जना’ रहनुभएको छ । सो चलचित्र हालसम्म नेपालका लमजुङ, पोखरा, काठमाडौं, स्याङ्जा, विदेशमा हङकङ, कतार, संयुक्त अरब इमिरेट्स, बेलायत, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड, भारतलगायतका देशमा विशेष प्रदर्शन भइसकेको छ ।
मिलन डी.जी. इन्टरनेशनल प्रालिका अध्यक्ष एवं चलचित्र ‘भेडी गोठाले’का कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रवक्ता रूद्रबहादुर श्रीस र कलाकार गौरी गुरुङले स्वागत गर्नुभएको थियो ।

Advertisment