लाफा ग्रुपको नयाँ सञ्चालक समिति गठन

काठमाडौं, १३ कात्तिक
“आर्थिक समृद्धि अहिलेको आवश्यकता, एकता र इमान्दारिता नै हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ आइतबार काठमाडौंमा मगर समुदायको नेतृत्वदायी सामूहिक लगानीमा स्थापित कम्पनी “लाफा ग्रुप लिमिटेड”को प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
विभिन्न २१ देशमा क्रियाशील ४२३ जना संस्थापक शेयर सदस्य रहेको सो कम्पनीको उपराष्ट्रपति नन्दकिशोर पुन “पासाङ”ले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उपराष्ट्रपति पासाङले आर्थिक समृद्धिका लागि उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । छरिएर रहेका पुँजीलाई एकीकृत गरी संयुक्त लगानीमार्फत् आर्थिक समृद्धिको अभियानमा लाग्नु सराहनीय कार्य भएको भन्दै उहाँले सांस्कृतिक पहिचान जोगाउँदै आर्थिक समृद्धिका लागि अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।


साधारणसभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढामगरले लाफा ग्रुपले पर्यटन क्षेत्रमा पनि लगानी गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लाफा ग्रुप कम्पनीले पनि सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीमगरले मगर समुदाय आफ्नो अधिकारका लागि मात्रै नभएर आर्थिक समृद्धिका लागि पनि जुर्मुराएको देख्दा खुशी लागेको बताउँदै राजनैतिक पहुँच नबनेसम्म कुनै पनि क्षेत्रमा प्रगति गर्न नसकिने धारणा राख्नुभयो ।
प्रदेश नं. ३ को प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिकी सभापति रमा आलेमगरले लाफा ग्रुप कम्पनीले निर्माण गर्न लागेको लाफा भिलेज पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको भन्दै पर्यटन उद्योगमार्फत् पनि कम्पनीले आफ्नो लगानी सुरक्षित गर्नसक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक कुबेरसिंह रानामगर, चार्टर्ड एकाउण्टेन्ट निल सारुमगर, सल्लाहकार लंकमान रोकामगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कम्पनीका अध्यक्ष चन्द्रज्योति आलेको अध्यक्षता, कम्पनीका सदस्य ज्ञानेन्द्र पुनमगरको स्वागत र कम्पनीका सञ्चालक सदस्य रक्षाबहादुर रैकामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
साधारणसभाको दोस्रो चरणमा सञ्चालन भएको बन्दसत्रमा कम्पनीको प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना अध्यक्षको तर्फबाट सञ्चालक समिति सदस्य ज्ञानेन्द्र पुनमगरले पेश गर्नुभएको थियो । आर्थिक प्रतिवेदन (अडिट रिर्पोट) चाटर्स एकाउण्टेन्ट निल सारु र जनक थापामगरले गर्नुभएको थियो भने कम्पनीको प्रबन्धपत्र नियमावलीको संशोधन मस्यौदा सञ्चालक समिति सदस्य ज्ञानेन्द्र पुनमगरले पेश गर्नुभएको थियो । तीन वटै प्रतिवेदन उपर छलफल हुँदा आएका जिज्ञासा र प्रश्नहरूको जवाफ सञ्चालक समिति सदस्य रक्षाबहादुर रैकामगरले दिनुभएको थियो । बन्दसत्रको अध्यक्षता कम्पनी अध्यक्ष चन्द्रज्योति आले र सञ्चालन रक्षाबहादुर रैकामगर र हिरुसरा रानामगरले गर्नुभएको थियो ।
प्रतिवेदन उपर छलफल अनि पारित पश्चात निर्वाचन अधिकृतले नयाँ सञ्चालक समिति निर्वाचन प्रक्रिया सुरु गर्नुभएको थियो । साधारणसभाले चन्द्रज्योति आले, जंगबहादुर थापा, रक्षाबहादुर रैकामगर, भीम रोकायमगर, मनमाया थापामगर र गुप्तबहादुर रानामगरलाई नयाँ सञ्चालक समिति सदस्यमा निर्वाचित गरेको छ ।

Advertisment