ठूलाथरको बडा दशैं पूर्णिमा मेला सकियो

गलकोट, ९ कात्तिक
बागलुङको गलकोट नगरपालिका–६, ठूलाथरमा स्थापित संगम युवा क्लबको ३६ औं वार्षिकोत्सव एवं नेपालीहरूको महान् चाड बडा दशैंका अवसरमा आयोजित “बडा दशैं पूर्णिमा मेला–२०७५” सकिएको छ ।


ठूलाथरस्थित संगम खेल मैदानमा भएको मेलामा आयोजित वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि नरेठाँटी युवा क्लब, गलकोट नगरपालिका–२, नरेठाँटीले जितेको छ । उपाधिसँगै नरेठाँटी क्लबले ६० हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भयो ।
पुरुष भलिबलको फाइनलमा नरेठाँटी युवा क्लब र आयोजक संगम युवा क्लबबीच २–२ सेटमा बराबरी भएको थियो । साँझ परेका कारण अन्तिम निर्णायक खेल सञ्चालन हुन नसकेपछि आयोजकले निर्णय गरी नरेठाँटी युवा क्लबलाई विजयी घोषित गरेको थियो भने आयोजक संगमलाई द्वितीय घोषित गरिएको थियो । आयोजक संगमले द्वितीयसँगै ४० हजार नगद पुरस्कार जित्यो ।
त्यस्तै, पुरुष भलिबलमा रुस्दी युवा क्लब, गलकोट नगरपालिका–५, सिमलबोट तृतीय र ताराखोला गाउँपालिका वडा नं. ३ सान्त्वना भइ क्रमशः २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भए । महिला भलिबलतर्फ भने बडीगाड गाउँपालिका–३ ले उपाधि जित्न सफल भयो भने घुम्टे सिद्ध भैरव इलेक्ट्रोनिक्स शप, हरिचौरले द्वितीय स्थानमै चित्त बुझाउन बाध्य भयो । उपाधिसँगै बडीगाड गाउँपालिकाले ३० हजार रुपैयाँ पुरस्कार जित्न सफल भयो भने घुम्टे सिद्ध भैरवले २० हजार रुपैयाँ नगद पुरस्कार जित्यो ।
मेलामै आयोजित ३० वर्षमाथिको वडास्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको उपाधि भने रोयल गोर्खाज होटल, गलकोट नगरपालिका–३, हटियाले जित्यो । उपाधिसँगै रोयल गोर्खाजले खसी जित्न सफल भयो भने उपबिजेता बनेको साउने संक्रान्ति मेला व्यवस्थापन समिति, ताराखोला गाउँपालिका–३, हिलले बोका पुरस्कार जित्न सफल भयो । उता, खुल्ला सामूहिक नृत्य प्रतियोगिताको उपाधि भने एभर डान्स ग्रुप, गलकोट नगरपालिका–१, दुदिलाभाटीले जित्न सफल भयो भने नेपाल मगर समाज सेवा गुठी, बागलुङ उपबिजेता बन्यो । उनीहरूले क्रमशः १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।
मेलामा हास्य कलाकार एवं जादुगर दीपक थापा, लोक तथा दोहोरी गायकहरू ईश्वर सिंह, नवीन राना र लोक तथा दोहोरी गायिका रमा रानाले दर्शकलाई भरपूर मनोरञ्जन दिलाए । मेलामा आयोजना गर्ने भनिएको पुरुष तथा महिला रस्साकस्सी प्रतियोगिता भने समयाभावका कारण हुन सकेन ।
“राष्ट्र निर्माणमा युवाहरूको सहभागिता, समुन्नत समाज विकासमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ आयोजित मेलाको समापन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं गण्डकी प्रदेशका सांसद् चन्द्रबहादुर बुढा “सागर”ले युवाहरू राष्ट्र निर्माणका लागि सकारात्मक सोंचका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सांसद् सागरले संगम युवा क्लबले समग्र गलकोट क्षेत्रकै विकासका लागि गैरसरकारी क्षेत्रबाट महत्वपूर्ण टेवा पु¥याउन सक्ने भन्दै सरकारले अघि बढाएको आर्थिक समृद्धिको नारालाई सफल बनाउन सहयोग गर्न आग्रह गर्नुभयो । साथै, उहाँले गलकोट नगरपालिकालाई पूर्वाधार विकास गर्दै समृद्ध गलकोट बनाउन आफूले प्रदेशसभामार्फत् सक्रिय भूमिका खेल्ने बताउनुभयो ।


गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचाले समृद्ध गलकोटका लागि नगरपालिका लागिपरेको बताउँदै नगरपालिकाको विकास अभियानलाई सफल बनाउन सहयोग गर्न गलकोट नगरबासीलाई आग्रह समेत गर्नुभयो । साथै, उहाँले युवाहरूलाई स्वरोजगार बन्न आग्रह गर्दै कृषि क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्न नगरपालिकाले कार्यक्रम अघि बढाएको जानकारी पनि दिनुभयो ।
जिल्ला भलिबल संघ, बागलुङका अध्यक्ष यामबहादुर श्रीसले राष्ट्रिय खेलका रुपमा स्थापित भलिबलको विकासमा संगम युवा क्लबले खेलेको भूमिका उल्लेखनीय रहेको भन्दै व्यवस्थित रुपमा भलिबल खेलको विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । मेलाको समापनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरू फमलाल निउरे, यामबहादुर श्रीस, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती, गलकोट नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सु. नरबहादुर खत्रीलगायतको उपस्थिति रहेको थियो ।
संगम युवा क्लबका अध्यक्ष राजबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार रुद्रबहादुर श्रीस र सह–सचिव गगन विक र मिलन निउरेले स्वागत गर्नुभएको थियो । यसअघि, मेलाको उद्घाटन ठूलाथरका मुखिया हिराबहादुर श्रीसले गर्नुभएको थियो ।

Advertisment