मातृशक्ति देवी, दुर्गा र बलि पूजा

–डा. मीन श्रीस मगर
मानव सभ्यताको प्रारम्भदेखि नै मातृशक्तिको पूजा गर्ने प्रचलन रहेको अधिकांश विद्वानहरूको मत पाइन्छ । सुमेरियन, बेबिलोनियन, हित्ती, इजियन, सिन्धु आदि प्राचीन सभ्यताहरूमा अनेकौं देवीहरूको पूजा गरिन्थ्यो भन्ने पुरातात्विक प्रमाणहरू पाइएका छन् । भारतीय विद्वान श्रीराम गोयलका अनुसार इजियन सभ्यतामा सिंहबाट रक्षित देवीको पूजा गरिन्थ्यो । वेत्ताम मणि, द्वारकाप्रसाद मिश्र लगायतका भारतीय विद्वानहरूका अनुसार यस क्षेत्रमा चार हजार वर्ष अघिदेखि दुर्गा देवीको पूजा हुँदै आइरहेको पाइन्छ । सिन्धु सभ्यताकाल वा सोभन्दा अघिदेखि गैरआर्यहरूले पुज्दै आएको मातृशक्ति देवी दुर्गालाई आर्यहरूले भने धेरै पछि त्रेतायुगदेखि पुज्न थालेका हुन् । द्वारकाप्रसाद मिश्रको Studies in the proto-history of India  मा उल्लेख गरिएअनुसार ईसापूर्व १७५० तिर सिन्धुघाँटीको सभ्यता पतन भएको दुई सय वर्ष पछि आर्य राजा दिवोदास र किराँत राजा सम्वर वीच लामो समय युद्ध भएको थियो । उक्त युद्धमा अयोध्याका राजा दशरथले विदोदासको पक्ष लिएका थिए । किराँती राजा सम्बरका दुर्ग (किल्ला) को रक्षा देवी सुम्निमाले गर्ने भएकाले उनैलाई दुर्गका देवी अर्थात दुर्गा देवीको रुपमा पुज्न शुरु गरिएको कुरा प्राचीन पुस्तकहरूमा समेत उल्लेख गरिएको पाइन्छ । कतिपय लेखकले दुर्गालाई भारतको विन्ध्य पर्वतका जंगली जातिले पुज्ने देवीका रुपमा उल्लेख गरेका छन् । अधिकांश लेखकहरूले दुर्गालाई आर्यहरूको आदिदेवीको रुपमा मान्न तयार देखिदैनन् । पूर्वीय संस्कृति र सभ्यताका विद्वान मदनमणि दीक्षितले आफ्ना पुस्तकहरू ‘भूमि शुक्त’ र ‘ऋग्वैदिक नारी चरित्र’ मा उल्लेख गरेअनुसार दुर्गा पूजन परम्परा किराँत र शक जस्ता आर्यइतर जातिहरूको धरोहर भएकाले भविष्य पुराण जस्ता आर्य ग्रन्थहरूमा घृणा गरिएको पाइन्छ । धेरै पछि आएर आर्य समाजमा पनि दुर्गा पूजा परम्पराको प्रभाव पर्दै जान थाल्यो र महाभारत तथा रामायण जस्ता विशिष्ट ग्रन्थहरूमा दुर्गा भवानीको आख्यानलाई समावेश गरियो ।
नेपालको सन्दर्भमा अधिकांश पहाडी समुदायमा मातृशक्ति देवी पुज्ने परम्परा रहेको पाइन्छ । पौराणिक स्रोतहरूले नेपाललाई महादेव र पार्वतीको निवासस्थल मानेको छ । पार्वतीलाई नै काली, दुर्गा, महाकाली, चण्डी, भगवती आदि अनेक रुपमा वर्णन गरिएको पाइन्छ । नेपालको किराँतकालीन मातृसत्तात्मक समाजमा मातृशक्ति देवीको उपासना हुन्थ्यो भन्ने बारे अधिकांश विद्वानहरूको एक मत रहेको पाइन्छ । लिच्छविकाल र मध्यकालमा पनि शक्ति उपासनाको परम्पराले निरन्तरता पायो । पश्चिम नेपालको पहाडी समाजमा जीवात्मावाद (animism) र लामाझांक्रीवाद (shamanism) मा आधारित तान्त्रिक शाक्त मतको विकास भएको पाइन्छ । यो परम्परामा मातृशक्ति देवीहरूको निराकार स्वरुपको कल्पना गरी पशुपंक्षीको बलि चढाउने गरिन्छ । मष्टा, झांक्री, सिद्ध, भैरम, वराह, क्षेत्रपाल, गोपालेश्वर, कालिका, मालिका, भवानी, तान्त्रिक जलपादेवी आदिको खास मूर्ति हुँदैन । अन्नबाली उत्पादन बृद्धि र रोगव्याधिको त्रासबाट बच्ने सोंचले रुखको फेँदमा थान बनाएर यी देवदेवीहरूको पूजा गर्ने परम्पराको विकास भएको पाइन्छ । मगर जातिको आदिभूमि मानिएको पश्चिम नेपालका पहाडी बस्तीहरूमा वायुवादमा आधारित पितृपूजा परम्परा अन्तर्गत मातृशक्ति देवीहरूलाई कुलदेवी (clan deity) को रुपमा समेत पुज्ने गरिएको पाइन्छ । मगर पुजारी रहेका प्रसिद्ध आलमदेवी तथा आलमदेवीकै प्रतिरुप (replica) मानिएका कास्कीकोट देवी, लम्जुङकोट देवी र गोरखादरवारकी गोरखकाली देवीलाई कुलदेवीको प्रतीक मानिन्छ ।
मगर पुजारी रहेका नेपालका प्रसिद्ध देवस्थलहरू मध्ये मनकामना देवी, छाब्दीवराही, आलमदेवी र गोरखकालीलाई पितृपूजा (ancestral worship) अन्तर्गत स्थापित वायुवाद तथा प्रतीकवाद (totemism) परम्पराकै नेपाली संस्करण मानिन्छ । राजा राम शाहका प्रमुख सल्लाहकार सिद्ध लखन थापा मगरद्वारा स्थापित तथा उनकै भाइका दरसन्ताहरूले पुजारीको भूमिका निर्वाह गर्दै आइरहेको प्रसिद्ध मनकामना देवीलाई राम शाहकी रानी लिलावतीको वायु अर्थात आत्माको प्रतीक मानिन्छ । वायुपूजा प्रथामा मृतकको आत्मा (spiritual soul) यसै संसारमा घुमिरहने र पछिल्ला पुस्तामा अविर्भाव हुने विश्वास गरिन्छ । स्याङ्जाको प्रसिद्ध आलमदेवीलाई मास्की राना मगर र गोर्खाली शाहहरूको कुलदेवीको रुपमा पुजिन्छ । स्थानीय लोकश्रुतिअनुसार भीमसेनपातीको बुटानेर अलप भएकी राजकन्याको आत्मा भीरकोट गाउँकी एक मगर कन्यामा आरोपित भएपछि आलमदेवीको स्थापना र उपासना शुरु गरिएको थियो । आले मगर पुजारी रहने तनहूँको छाब्दीवराहीलाई सिद्ध नारीको प्रतीक मानिन्छ । स्थानीय अनुश्रुतिअनुसार जहरसिंह आले मगरको गोठ नजिकैको कुण्डमा मत्स्यकन्या (मगरकन्या) अन्तर्धान (अलप) भएपछि उक्त कुण्डलाई तिनै सिद्ध नारीको प्रतीक (totem) को रुपमा प्रतीकिकरण गरेर पूजा प्रारम्भ गरिएको मानिन्छ । यस्ता पितृपूजा तथा वायुवादको परम्परामा आधारित देवीका थानहरू पश्चिम पहाडी मगर बस्तीका डाँडापाखा र देउरालीहरूमा जहाँतही भेटिन्छन् । तिनै मातृशक्तिका देवीहरूलाई वाइसी चौवीसीकालीन राज्यका राजा रजौटाहरूले आफ्ना दुर्ग (किल्ला) हरूको रक्षा गर्ने देवीको रुपमा पुज्न थालेपछि दुर्ग देवी भन्दाभन्दै जनजिब्रोमा दुर्गा देवीको नामले प्रचलित हुनपुगेको मानिन्छ । गण्डकी प्रश्रवण क्षेत्रका मध्यकालीन दरवार र किल्लाका भग्नावशेषहरूमा स्थापित अधिकांश दसैंघर एवं कोट–मौलाहरूमा अहिले पनि मगर पुजारीहरूले दुर्गा देवीलाई सुँगुर लगाएतका पशुपंक्षीको पञ्चबलि दिएर पूजा गरेको पाइन्छ ।
नेपालको इतिहासमा उल्लेख भएअनुसार यहाँको पहिलो बासिन्दा किराँत हो भने मगर जाति किराँतभित्रै पर्दछ । नेपालमा सबैभन्दा लामो समय राज गर्ने जाति मगर नै हो । त्यसकारण मगर किराँतले पालना गरेका नियमहरू लामो समयसम्म नेपालमा नीति र संस्कृतिको रुपमा बाँचिरहे । पछि आउने सबैले यसलाई निरन्तरता दिए । नेपाल एकीकरणको क्रमसँगै अघि बढेको विभिन्न समुदायहरू वीचको सांस्कृतिक अन्तरघुलन पश्चात पनि यहाँका आदिवासी समुदायको सांस्कृतिक परम्पराले मान्यता पाइरह्यो । परिणाम स्वरुप मातृशक्तिका रैथाने देवीहरूलाई फरक–फरक समुदायले आ–आफ्नै परम्परागत मान्यतामा ढालेर उपासना गर्ने चलनको विकास हुन गयो । यसै क्रममा नेपाली हिन्दू समुदायले महाभारत र रामायण जस्ता आर्य ग्रन्थहरूको आख्यानसँग जोडेर आलमदेवी, गोरखकाली, मनकामना लगायतका रैथाने देवीहरूलाई शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्मान्डा, स्कन्दमाता, कात्यायानी, कालरात्री, महागौरी र सिद्धिरात्रिको रुपमा सप्तशतीको चण्डीका हवन, होम–यज्ञादि गरेर बलिपूजा सहित पुज्न थालेको बुझिन्छ । भारतीय आर्य समाजमा दशहराभरि मासुको प्रयोग गरिदैन भने दुर्गा देवीलाई पशुपंक्षीको बलि चढाइदैन । यसैगरी बौद्ध मतावलम्वी पुरोहित गुभाजूहरूले बौद्ध परम्पराको बज्रयानी पद्धतिअनुसार बज्रउत्सव र गुरुमण्डलीको अनुष्ठान सहित मनकामना देवीलाई पुज्ने गरेको पाइन्छ । मगर जातिका पुजारीहरूले भने यी देवीहरूलाई तान्त्रिक विधिबाट पुज्ने गर्दछन् । यसरी आदिवासी समुदायको परम्परागत रैथाने देवीलाई विभिन्न समुदायले आ–आफ्नै मान्यता र प्रचलनमा ढालेर मनाउनुलाई धार्मिक तथा सामाजिक सद्भाव, सहिष्णुता र समन्वयको उत्कृष्ट नमूना मान्न सकिन्छ ।
सन्दर्भ सूची
अधिकारी, रेशराज र घिमिरे, हरिहर. (२०५६). नेपाली समाज र संस्कृति. काठमाडौंः विद्यार्थी पुस्तक भण्डार ।
जोशी, शम्भुराम. (२०७५ असोज २७). आर्य संस्कृति र दशैँ. गोरखापत्र शनिवार, पृ. क ।
नेपाल, प्रदीप. (२०७५ असोज २५). दशैँ, रामायण र किराँत.गोरखापत्र, पृ. ४ ।
शर्मा, गोपीनाथ. (२०७१). चौवीसी राज्यको इतिहास. काठमाडौंः मकालु प्रकाशन ।
श्रीस मगर, मीन. (२०६८). मगर पुजारी रहेका प्रसिद्ध देवस्थलहरू. काठमाडौंः मगर अध्ययन केन्द्र ।
––– (२०७५). चाडवाडहरूको समाजशास्त्रीय विश्लेषण. ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
Advertisment