लाफा ग्रुपको प्रथम वार्षिक साधारणसभा कात्तिक ११ गते हुने

काठमाडौं, २९ असोज
देश तथा विदेशमा रहेका नेपालीहरूको सामूहिक लगानीमा स्थापित लाफा ग्रुप लिमिटेडको प्रथम वार्षिक साधारणसभा आगामी कात्तिक ११ गते हुने भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. २६, ठमेलमा मुख्य कार्यालय रहेको सो पब्लिक कम्पनीको साधारणसभा लाजिम्पाटस्थित होटल ¥याडिसनमा हुने कम्पनीकी अध्यक्ष चन्द्रज्योति आलेले जानकारी दिनुभयो । अध्यक्ष आलेका अनुसार साधारणसभाबाट कम्पनीको सञ्चालक समिति गठन हुनेछ । उहाँका अनुसार साधारणसभाको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले गर्नुहुनेछ ।
त्यस्तै, साधारणसभाले अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन एवं वित्तीय विवरण, कम्पनीको प्रबन्धपत्र र नियमावलीसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ भने कम्पनीको चुक्ता पुँजी वृद्धिसम्बन्धी विशेष प्रस्ताव समेत पारित गर्नेछ । साधारणसभामा ४ सय २३ जना शेयर सदस्यहरूको सहभागिता रहनेछ । कम्पनीमा २३ वटा देशमा बसोबास गर्ने नेपालीहरूको सामूहिक लगानी रहेको छ ।
लाफा ग्रुपले आफ्नो महत्वपूर्ण एवं गौरवमय आयोजनाका रुपमा काठमाडौंको नागार्जुन नगरपालिका–७ मा पर्ने स्वीट्जरल्याण्ड पार्कनजिकै ‘लाफा भिलेज’ निर्माणको काम अघि बढाइसकेको छ । सो आयोजनालाई लाफा ग्रुपले ‘ड्रिम प्रोजेक्ट’का रुपमा अघि बढाएको अध्यक्ष आलेको भनाइ छ । कम्पनीले साधारणसभामार्फत् अन्य योजनाहरू समेत ल्याउने र सात वटै प्रदेशमा आफ्ना व्यवसायिक आयोजना सुरु गर्ने तयारी समेत गरेको अध्यक्ष आलेले जानकारी दिनुभयो ।

Advertisment