ठूलाथरमा बडा दशैं पूर्णिमा मेलाको तयारी

गलकोट, २९ असोज
बागलुङको गलकोट नगरपालिका–६, ठूलाथरमा बडा दशैं पूर्णिमा मेला हुने भएको छ । संगम युवा क्लबको ३६ औं वार्षिकोत्सव एवं बडा दशैंका अवसरमा सो मेला हुन लागेको हो ।
मेलाको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष राजबहादुर पुनले जानकारी दिनुभएको छ । अध्यक्ष पुनका अनुसार मेलाका प्रमुख आकर्षणहरूमा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, वडास्तरीय भेट्रान्स भलिबल प्रतियोगिता, खुल्ला सामूहिक नृत्य प्रतियोगिता, खुल्ला पुरुष रस्साकस्सी प्रतियोगिता, खुल्ला महिला रस्साकस्सी प्रतियोगितालगायत रहेका छन् ।
जसमा खुल्ला पुरुष भलिबलतर्फ पुरस्कार राशि प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ६० हजार, ४० हजार, २० हजार र १० हजार, खुल्ला महिला भलिबलतर्फ प्रथम र द्वितीयलाई ३० हजार र २० हजार रुपैयाँ नगद, भेट्रान्स भलिबलतर्फ प्रथम र द्वितीयलाई खसी र बोका, सामूहिक नृत्यतर्फ प्रथम र द्वितीयलाई १५ हजार र १० हजार, पुरुष तथा महिला रस्साकस्सीतर्फ प्रथम र द्वितीयलाई ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार रहेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।
त्यस्तै, मेलाका अन्य आकर्षणहरूमा ठूलाथरमा प्रचलित सोरठी, सराङ नाच, यानीमाया, सालैजो, ठाडो भाका, झ्याउरेलगायत विभिन्न सांस्कृतिक प्रस्तुती साथै, राष्ट्रियस्तरका कलाकारहरू लोक तथा दोहोरी गायक नवीन राना, गायिका रमा राना र हास्य कलाकार एवं जादुगर दीपक थापाको विशेष प्रस्तुती रहने क्लबका कोषाध्यक्ष गणेश चालिसेले जानकारी दिनुभयो ।
कात्तिक ३ गतेदेखि सुरु हुने मेला कात्तिक ७ गते कोजाग्रत पूर्णिमासम्म सञ्चालन हुनेछ । मेलाका लागि प्रायोजकहरूको उत्साहजनक साथ मिलेको भन्दै कार्यक्रम सफल बनाउन सहयोगका लागि सम्पूर्णमा क्लबका अध्यक्ष पुनले अनुरोध समेत गर्नुभएको छ ।

Advertisment