नक्कली फर्म दर्ताको कागज देखाएर अनुदान खानेलाई कारबाही हुन्छ ः कृषि मन्त्री थापा

पोखरा, २७ असोज
गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले नक्कली कृषि फर्म दर्ताको कागज देखाएर अनुदान खानेलाई कारबाही गरिने बताउनुभएको छ ।
बडा दशैं, तिहार, नेपाल सम्वत ११३९ तथा छठ पर्वका अवसरमा गोरखा मिलन समाज, पोखराले आज (शनिबार) पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री थापाले कृषिलाई मुख्य पेशा बनाउनुपर्नेमा जोड दिनुभयो ।
“कृषिलाई मुख्य पेशा बनाउनुपर्छ”, मन्त्री थापाले भन्नुभयो, “तर, नक्कली फर्म दर्ताको कागज देखाएर अनुदान खान खोज्नेलाई कारबाही हुन्छ ।” कृषि क्षेत्रमा नयाँ मोडलको विकास गर्न प्रदेश सरकार लागिरहेको भन्दै मन्त्री थापाले गण्डकी प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन सरकार एक्लैले नसक्ने भएकाले सबैको साथको खाँचो औंल्याउनुभयो ।
एक अर्को प्रसंगमा मन्त्री थापाले संविधान आवश्यकता अनुसार समयानुकूल परिमार्जन गर्न सकिने बताउँदै संविधान कार्यान्वयनका लागि प्रदेश सरकार तदारुकताका साथ लागिरहेको बताउनुभयो । बडा दशैं हिन्दू धर्मावलम्बीको मात्र नभइ आम नेपालीको सामाजिक पर्व भएको बताउँदै उहाँले सबैका सांस्कृतिक मूल्य, मान्यतालाई स्थापित गर्न सरकार तत्पर रहेको उल्लेख गर्नुभयो ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं संविधानसभाका सभासद् अमर गुरुङले विविधतायुक्त नेपाली समाजलाई बडा दशैं पर्वले सद्भावको डोरीमा बाँध्ने काम गरेको भन्दै धार्मिक भन्दा पनि सांस्कृतिक पर्वका रुपमा दशैंलाई मनाउनुपर्नेमा जोड दिनुभयो । एक आपसमा भेटघाट र सद्भाव साटासाट गर्ने अवसरका रुपमा दशैं पर्वलाई लिनुपर्ने बताउँदै नेता गुरुङले सामाजिक कार्यमा गोरखा मिलन समाज, पोखराले देखाएको अग्रसरताको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि एवं पोखरामा बसोबास गर्ने गोरखालीहरूले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए । गोरखा मिलन समाज पोखराका अध्यक्ष तिलक तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रमेश श्रेष्ठ र उपाध्यक्ष कपिल पोखरेलले स्वागत गर्नुभएको थियो ।

Advertisment