प्रहरी उपरीक्षक राना उत्कृष्ट कार्यालय प्रमुखका रुपमा सम्मानित

पोखरा, २६ असोज
कास्कीमा अपराध अनुसन्धानमा विशेष काम गरेबापत कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान प्राप्त गरेका छन । गण्डकी प्रदेशमा रहेका ११ जिल्लामध्ये अपराध अनुसन्धानमा विशेष काम गरेबापत प्रहरी उपरीक्षक रानालाई सम्मान गरेको हो । ६३ औ प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेशले आयोजना गरेको प्रहरी दिवसको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा प्रहरी उपरीक्षक रानासहित कास्कीका ४ जना प्रहरी अधिकृतहरू सम्मानित भएका छन् ।
कास्कीका व्यापक प्रहरी कर्मचारी परिचालन गरी अपराध रोकथाम तथा नियन्त्रण एवं अनुसन्धान, सामुदायिक सेवा केन्द्रहरु परिचालन, सवारी दुर्घटना न्युनीकरण, लागुऔषध ओसारपसार एवं सेवन नियन्त्रण, फरार अपराधीहरुको खोजी तथा पक्राउ गर्नुको साथै समग्र जिल्लाको शान्ति सुरक्षा कायम गर्न सफल भएको भन्दै प्रदेश प्रहरी कार्यालय पोखराले कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानालाई गण्डकी प्रदेशको ११ जिल्ला मध्ये उत्कृष्ट कार्यालय प्रमुखको रुपमा सम्मान गरेको हो ।
प्रहरी दिवसको अवसरमा अपराध रोकथाम तथा अनुसन्धानमा उत्कृष्ट काम गरेको र बैदाम क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न बिशेष योगदान पु¥याउनुका साथै कार्यालय व्यवस्थापनमा उत्कृष्ट भन्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीलाई सम्मान गरिएको छ ।
कास्कीको ट्राफिक व्यवस्थापनमा विशेष योगदान पु¥याएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्ल सम्मानित हुनुभयो । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीलाई अपराध अनुसन्धानमा विशेष योगदान पु¥याएको भन्दै उत्कृष्ट अनुसन्धान अधिकृतको विधामा सम्मान गरेको छ । त्यस्तै, सो अवसरमा नागरिकका तर्फबाट ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै पत्रकार शिवराज बस्ताकोटी “शिव दाइ”लाई सम्मान गरिएको थियो ।
गण्डकी प्रदेशमा उत्कृष्ट साहसिक कार्यतर्फ सशस्त्र प्रहरी गण मुख्यालय पोखराका प्रहरी जवान ओमबहादुर सोमै, उत्कृष्ट साहसिक कार्य (प्राकृतिक प्रकोप उद्दार तर्फ) जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी नायब निरीक्षक हिरा थापा मगर, उत्कृष्ट कार्यालय व्यवस्थापन तथा अनुसन्धान तर्फ वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट प्रहरी निरीक्षक शंकरप्रसाद आचार्य र उत्कृष्ट प्रहरी कार्य तर्फ प्रदेश प्रहरी कार्यालय पोखराबाट प्रहरी नायब उपरीक्षक गोविन्द पुरी सम्मानित हुनुभएको छ ।
सम्मानित व्यक्तिहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान “अजित”, प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक दानसिंह बोहोरालगायतले सम्मान गरेका थिए ।

Advertisment