पाँचौं खुला भलाम सेभेन ए–साइड कात्तिक १० गतेदेखि

पोखरा, २५ असोज
श्रृंखला क्लब, पोखरा महानगरपालिका–२०, भलामको आयोजनामा आगामी कात्तिक १० गतेदेखि पाँचौं खुल्ला भलाम सेभेन ए–साइड फुटबल प्रतियोगिता हुने भएको छ ।
क्लबले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी दिएको जानकारी अनुसार कात्तिक १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १ हजार १ सय ११, ट्रफी, मेडल र प्रमाणपत्र एवं द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र रहेको क्लबका अध्यक्ष निर्मल खत्रीले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी हुनका लागि कात्तिक ८ गतेसम्म टिम दर्ताको समयसीमा तोकिएको छ भने ६ हजार रुपैयाँ टिम दर्ता शुल्क राखिएको अध्यक्ष खत्रीले बताउनुभयो । जिल्ला खेलकुद विकास समिति, कास्कीको सहयोगमा क्रमिक रुपले स्तरोन्नति हुँदै गएको श्रृंखला खेल मैदान, भलामलाई क्षेत्रीय सेभेन ए–साइड फुटबल मैदानको रुपमा विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष खत्रीको भनाइ छ ।
“राम्रो भलाम मौजा, हाम्रो भलाम मौजा” भन्ने मूल नाराका साथ प्रतियोगितामार्फत् ऐतिहासिक धार्मिकस्थल हरिहर सन्यास आश्रमलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकासका लागि प्रचारप्रसार गर्ने लक्ष्य राखिएको क्लबका सचिव रेशम खत्रीले जानकारी दिनुभयो । प्रतियोगिताको मुख्य प्रायोजकमा पोखरा महानगरपालिका–२० वडा कार्यालय रहेको छ ।

Advertisment