अर्घाखाँची–पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान

पोखरा, २४ असोज
अर्घाखाँची–पोखरा सम्पर्क समाजले बडा दशैं, तिहार, नेपाल सम्वत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार (आज) पोखरामा आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले बडा दशैं पर्व खराब प्रवृत्तिलाई जितेर देवत्व प्राप्त गर्ने अवसर भएको बताउनुभयो । बन्धुत्वको भावना लिएर काम गर्न सके मात्र प्रगति गर्न सकिने भन्दै प्रदेश प्रमुख कुँवरले आनन्द र सन्तुष्टिले जीवनमा प्रगति हासिल गर्न सकिने उल्लेख गर्नुभयो । चाडपर्वका बेला खानपान र हिँडाइमा विशेष सतर्कता एवं सचेतता अपनाउनुपर्ने भन्दै प्रदेश प्रमुख कुँवरले स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले यात्रा गर्दा सचेत भएर हिँड्न आग्रह गर्दै खानपानमा समेत सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । पोखरामा आएर पनि अर्घाखाँचीबासीको बीचमा रहन पाउँदा आफ्नै घर जस्तो लाग्ने गरेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत पौडेलले नेपाली चाडपर्वहरू अत्यन्त रमाइला र महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागी विभिन्न पेशा, व्यवसायमा आबद्ध पोखरामा बसोबास गर्ने अर्घाखाँचीबासीहरूले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए । समाजका अध्यक्ष लीलाबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव रामप्रसाद पौडेल र प्रथम उपाध्यक्ष चेतनारायण पौडेलले स्वागत गर्नुभएको थियो ।

Advertisment