पोखराको मादी खोलाको पानीलाई प्रशोधन गरी वितरण गर्ने

काठमाडौँ, २२ असोज \ खानेपानी संस्थानले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा पोखराको मादी खोलाको पानीलाई प्रशोधन गरी वितरण गर्ने भएको छ ।

जाइकाको रु चार अर्ब ८० करोडको लागतमा उक्त आयोजना निर्माण हुने छ । खानेपानीमन्त्री बीना मगरको अध्यक्षतामा आज बसेको समीक्षा बैठकमा संस्थानले पोखरा र आसपासका क्षेत्रका लागि खानेपानीको सहज वितरण गर्न सो आयोजनाको निर्माण शुरु गर्ने जानकारी दिएको छ ।

आयोजना निर्माण भएपछि पोखरा र आसपासका क्षेत्रका बासिन्दाले स्वच्छ खानेपानी उपभोग गर्न पाउनेछन् । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलोपटक काठमाडौँमा ‘वाटर एटिएम’ सञ्चालन गर्ने तयारी गरेको छ । आगामी बिहीबारदेखि ललितपुरको सैंबुस्थित बोर्डको परिसरमा ‘वाटर एटिएम’को नमूना प्रदर्शन गरिने बोर्डका कार्यकारी निर्देशक डा संजीवविक्रम राणाले जानकारी दिनुभयो ।

उक्त एटिएमबाट निश्चित रकम भुक्तानी गरेपछि स्वच्छ पानी पिउन पाइने छ । यस्तो एटिएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौँ उपत्यकाभित्र विस्तार गर्दै लैजाने योजना रहेको बोर्डका कार्यकारी निर्देशक राणाले बताउनुभयो । बोर्डबाट गठन भएको कार्यदलले गरेको अनुगमनबाट हालसम्म १८ ट्याङ्करलाई स्टीकर प्रदान गरिएको र मापदण्ड विपरीत सञ्चालन भएका ट्याङ्करलाई ३६ हजार जरिवाना गरिएको बैठकमा जानकारी गराइएको थियो ।

बैठकमा मन्त्रालयले दुई साताअघि गठन गरेको पानीको स्रोत संरक्षण तथा ट्याङ्कर व्यवस्थापन निर्देशिका मस्यौदा समिति र फोहोर पानी निष्काशन मस्यौदा समितिले देशैभर ढल तथा फोहोर पानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

योजना बैंक बनाइने
सो अवसरमा खानेपानीमन्त्री मगरले देशभरका स्थानीय तह तथा जनताबाट सङ्कलित योजनालाई कार्यान्वयन गर्ने उद्देश्यले योजना बैंक बनाउन लागिएको जानकारी दिनुभयो । देशैभरबाट सङ्कलित योजनालाई योजना बैंकमार्फत अघि बढाउने मन्त्रालयको तयारी छ, उहाँले भन्नुभयो, “मुलुकभर रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत पूर्णसरसफाइको अभियानलाई अघि बढाइनेछ ।”

Advertisment