निर्मल मावि उत्कृष्ट शैक्षिक केन्द्र बन्दै — पहिलो पटक इञ्जिनीयरिङको पढाइ

दमौली, २१ असोज । तनहुँको ब्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा सोमबारबाट पहिलो पटक डिप्लोमा तीन वर्षे सिभिल इञ्जिनीयरिङ ( ओभरसीयर) को पढाइ शुरु भएको छ । यस क्षेत्रको माग र आवश्यकतालाई ध्यान दिएर सो विद्यालयमा इञ्जिनीयरिङको पढाइ थालिएको हो ।

सरकारले गत वर्ष मात्रै निर्मल माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रुपमा छनोट गरेको थियो । सोहीअनुसार यस वर्ष रु एक करोड ५० लाख बजेट विनियोजन भएको छ । उक्त बजेट विद्यालयको शैक्षिक तथा भौतिक विकासमा खर्च गरिने विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले प्राविधिक विषयको अध्ययन गर्न नयाँ पुस्ता बढी इच्छुक देखिएपछि सोही आवश्यकता पुरा गर्न सिभिल इञ्जिनीयरिङको पठनपाठन शुरु गरिएको बताउनुभयो ।“ अध्ययनको लागि २० विद्यार्थी भर्ना भइसकेका छन्, पाँच विद्यार्थी छात्रवृत्तिअन्तर्गत भर्ना हुन्छन्”, प्रधानाध्यापक बस्नेतले भन्नुभयो । करीब ३५ विद्यार्थी इञ्जिनीयरिङ पढाइका लागि भर्ना हुन आउने अनुमान छ ।

प्राविधिक विषय पढाइका लागि सामग्रीको अभाव रहेकाले स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग अनुरोध गरिने विद्यालयले जनाएको छ । “विद्यालयले करीब रु ७७ करोडको गुरुयोजनासमेत तयार गरेको छ, सोहीअनुसार नै विद्यालयको शैक्षिक र भौतिक विकासका काम अघि बढ्नेछ”, प्रधानाध्यापक बस्नेतले भन्नुभयो । विद्यालयले आगामी वर्षमा प्राविधिक विषयका थप कक्षासमेत सञ्चालन गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर दरैले बताउनुभयो । आगामी वर्ष अमिनको पढाइ विद्यालयमा शुरु गर्ने योजना बनाइएको जानकारी दिँदै दरैले विद्यालयलाई प्राविधिक शिक्षाको उत्कृष्ट केन्द्रका रुपमा विकास गर्ने सोच रहेको बताउनुभयो ।

विसं २०२५ सालमा स्थापना भएको सो विद्यालयमा दश जोड दुईमा तीन सयसहित कुल नौ सय विद्यार्थी अध्ययनरत छन् । कक्षा दश अन्र्तगत खुला विद्यालयको पठनपाठन पनि चलिरहेको छ । दश जोड दुईमा व्यवस्थापन, शिक्षा, कानून र प्राविधिकधारतर्फ इञ्जिनीयरिङ विषयको पढाइ हुन्छ । बहुप्राविधिक शिक्षालयको रुपमा विकास गर्ने गरी काम भईरहेको प्रधानाध्यापक बस्नेतले बताउनुभयो । अर्को वर्षबाट विज्ञान, सर्भेलगायत विषयसमेत शुरु गर्ने बताइएको छ ।

इञ्जिनीयरिङमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरी कार्यक्रमको शुभारम्भ गर्नुहुँदै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बजारमा रोजगार उपलब्ध हुन सक्ने समयानुकूल प्राविधिक शिक्षाको पठनपाठन आजको आवश्यकता हो भन्नुभयो ।“अहिलेको शिक्षा प्रणालीका कारण उच्च शिक्षामा उत्तीर्ण भए पनि देशमा रोजगारी नपाएर धेरै युवा विदेशिनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “प्राविधिक शिक्षा भनेको रोजगारमूलक शिक्षा हो, यसको नेपालमा ठूलो माग छ ।”

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले तनहुँ जिल्लाका पाँच विद्यालयलाई प्राविधिक शिक्षा पढाइको अनुमति प्रदान गरेको थियो । जसअनुसार आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालय, भानु नगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालय, ब्यास नगरपालिका–१ स्थित निर्मल मावि, भानु नगरपालिका–२ स्थित होमराज लोहनी शारदा शिक्षा सदन र ब्यास नगरपालिका–६ स्थित जनजुक्त शाही माविले प्राविधिक विषय पढाइको अनुमति प्राप्त गरेका छन् । मित्रता माविमा बाली विज्ञान, त्रिभुवन माविमा पशु विज्ञान, निर्मल माविमा सिभिल इञ्जिनीयरिङ, होमराज लोहनी शारदा शिक्षा सदनमा सिभिल इञ्जिनीयरिङ र जनजुक्त माविमा पशु विज्ञानको पढाइ हुनेछ । मित्रता माविमा ४०, त्रिभुवन माविमा ४०, निर्मल माविमा ४८, होमराज लोहनीमा ४८ र जनजुक्त माविमा ४० को कोटा तोकिएको छ ।

आगामी दुई वर्षभित्र प्रत्येक स्थानीय तहमा सिटिइभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने प्रधानमन्त्री केपी ओलीको घोषणाबमोजिम जिल्लामासमेत प्राविधिक विषयको पढाइका लागि अनुमति प्रदान गरिएको सिटिइभिटीले जनाएको छ । – कृष्ण न्यौपाने

Advertisment