आर्थिक समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण ः सांसद् बुढा

पोखरा, २० असोज
गण्डकी प्रदेशका सांसद् चन्द्रबहादुर बुढा “सागर”ले आर्थिक समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
पोखरा महानगरपालिका–१०, रामघाटस्थित लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै सांसद् बुढाले छरिएर रहेका पुँजीलाई एकीकृत गरी उद्यमशीलताको विकासमा सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । सहकारीमार्फत् राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको आधार तयार पार्न सकिने बताउँदै सांसद् बुढाले सहकारीलाई समय सापेक्ष रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सहकारी क्षेत्रले उत्पादन क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्नुपर्ने बताउँदै सांसद् बुढाले दुई वा दुई भन्दा बढी सहकारीहरू मिलेर मेगा प्रोजेक्टमा समेत लगानी गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल मगर संघका केन्द्रीय संरक्षक झकबहादुर थापामगरले सहकारीको उद्देश्य अनुरुप अघि बढ्नुपर्ने बताउँदै नाफामुखी भन्दा पनि सेवामुखी उद्देश्य लिनुपर्ने बताउनुभयो । संघका अर्का केन्द्रीय संरक्षक लोकबहादुर थापामगरले सामूहिक रुपमा थोरै लगानी गरेर पनि धेरै काम गर्न सकिने बताउँदै सहकारी क्षेत्रले राष्ट्रिय पुँजीको विकासमा टेवा पु¥याउने धारणा राख्नुभयो ।
सो अवसरमा एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बालकृष्ण काउछामगर, जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष सरस्वती रानामगर, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीसमगरलगायतले राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको ठूलो योगदान रहेको धारणा राखेका थिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता डिकबहादुर आलेमगर र उत्कृष्ट ऋणी जमुना घर्तीमगरलाई सम्मान समेत गरिएको थियो ।
लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डिलबहादुर श्रीसमगर र उपाध्यक्ष बुद्धिमाया थापामगरले स्वागत गर्नुभएको थियो भने शिक्षा उपसमितिका संयोजक यामबहादुर थापामगरले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो ।

Advertisment