नेताका अभिव्यक्तिले पार्टी प्रतिष्ठामा आँच ः गुरुङ

पोखरा, १८ असोज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका इञ्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वरिष्ठ नेताको अभिब्यक्तिले पार्टीको प्रतिष्ठामा असर परेको बताउनुभएको छ ।
नेकपा गण्डकी प्रदेश कमिटीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जथाभावी रुपमा बरिष्ठ नेताको अभिब्यक्ति दिनाले पार्टीमा गम्भीर असर परेको बताउनुभएको छ ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले जिल्लासहितको स्थानीय तहको पार्टी प्रक्रियाको संयन्त्र टुंग्याएको छ । नेकपा गण्डकी प्रदेश कमिटीको बुधबार पोखरामा बसेको पहिलो बैठकले पार्टीको जिल्ला सहितको स्थानीय तहको पार्टी संयन्त्र गठन प्रकृयाको विषयमा टुंग्याएको नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे “उत्तम”ले बताउनुभयो ।
उक्त बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका पाँच–पाँच जना रहने गरी नेकपाको जिल्ला संयन्त्र गठन हुने निर्णय गरेको नेकपा गण्डकीका सचिव गोविन्द नेपालीले बताउनुभयो । जिल्ला संयन्त्रमा तत्कालीन नेकपा एमालेबाट जिल्ला इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव रहने भएकाछन भने तत्कालीन माओवादी केन्द्रबाट इञ्चार्ज, सहइञ्चार्ज र संयोजकसहित ५ जना गरी १० सदस्यीय संयन्त्र बनाइने भएको सचिव नेपालीले बताउनुभयो ।
यही असोज २७ गते भित्रै जिल्ला संयन्त्रको बैठक बस्नु पर्ने प्रदेश अध्यक्ष उत्तमले जानकारी दिनुभयो । गण्डकी प्रदेशको भूगोलमा रहेका केन्द्रीय कमिटीका सदस्यहरूको भेला शुक्रबार पोखरामा हुने भएको छ । नेकपा गण्डकी प्रदेशको सम्पर्क कार्यालय पोखरा–९, नयाँबजारमा रहने भएको छ ।

Advertisment