मगरात प्राप्तिका लागि युवा दस्ता तयार गर्न मगर युवा संघलाई निर्देशन

काठमाडौं, १८ असोज
नेपाल मगर संघले मगरात प्राप्तिका लागि भन्दै आन्दोलनका लागि युवा दस्ता तयार गर्न नेपाल मगर युवा संघलाई निर्देशन दिएको छ ।


मगर युवा संघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित नेतृत्वलाई प्रमाणपत्र वितरण तथा दोस्रो पूर्ण बैठकको पूर्व सन्ध्यामा मगर संघले मगर युवा संघलाई जुझारु र सशक्त संगठन बनाउन निर्देशन दिएको हो । बुधबार सम्पन्न बैठकका अवसरमा निवर्तमान नेतृत्वलाई सम्मानसहित बिदाइ समेत गरिएको थियो ।


नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले विशेष निर्देशन दिँदै मगर समाजमा जाँडरक्सीलगायतका कुलत एवं विकृति, विसंगति नियन्त्रणका लागि मगर युवा संघले विशेष जागरण अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । मगर युवालाई सकारात्मक मार्गमा डो¥याउन मगर युवा सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताउँदै महासचिव पुनमगरले एक गाउँ, एक उद्यमशीलताको योजनाको खाका ल्याउन मगर युवा संघलाई निर्देशन दिनुभयो । साथै, उहाँले मातृ संगठनको नीति, निर्देशनलाई मानेर अघि बढ्न आग्रह गर्नुभयो ।


बैठकमा नेपाल मगर संघका केन्द्रीय संरक्षक अधिवक्ता गौबहादुर आलेमगर र नेपाल मगर संघका केन्द्रीय सदस्य एवं युवा फाँट प्रमुख अशोक सारूमगरले समेत मगर युवा संघले खेल्नुपर्ने भूमिकाका विषयमा विशेष निर्देशन दिनुभएको थियो ।
नेपाल मगर युवा संघका अध्यक्ष जयप्रकाश बुढामगरको अध्यक्षतामा भएको बैठकको सञ्चालन महासचिव एमानसिंह रानामगर र वरिष्ठ उपाध्यक्ष रेम पुनमगरले स्वागत गर्नुभएको थियो ।

Advertisment