सन्दीकाको उपचारका लागि २ लाख ८३ हजार सहयोग हस्तान्तरण

पोखरा, १६ असोज
विगत दुई वर्षदेखि एनएमओ–इजीजी रोगबाट ग्रसित १६ वर्षीया सन्दीका गुरुङको उपचारका लागि २ लाख ८३ हजार ८ सय ९३ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ ।
योंज तमु ह्युल परिवार, नेपालले मंगलबार आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रमका अवसरमा सो रकम सन्दीकाकी बुबा पवन गुरुङ र मामा जीवन गुरुङलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो । बिरामी सन्दीकाकी आमा युवाकुमारी गुरुङका जनप्रेमी माविका सहपाठी साथीहरूको फेसबुक ग्रुप “जनप्रेमी–२०५६”द्वारा संकलित रकम सो कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।


काठमाडौंको न्यूरो अस्पतालमा उपचाररत तनहुँ जिल्लाको फिरफिरे, लामागाउँ वडा नम्बर १ की सन्दीकाको उपचारका लागि अमन गुरुङ र विजय गुरुङको पहलमा युकेबाट संकलित ८१ हजार रुपैयाँ, योगेश गुरुङ र हर्क गुरुङको पहलमा पोर्ट अफ सलाह कम्पनी, ओमानबाट संकलित ७० हजार ५ सय ८० रुपैयाँ एवं योंज तमु ह्युल परिवारबाट ५० हजार रुपैयाँ कार्यक्रममा हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेफ्स्कूनका गण्डकी प्रदेश संयोजक भीम गुरुङले सन्दीकाको उपचारका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । अभियन्ता इन्द्र गुरुङले अझै पनि सहयोग आउने क्रम जारी रहेको बताउँदै प्राप्त सहयोग रकम क्रमशः हस्तान्तरण गर्दै जाने उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रुद्रबहादुर श्रीसले यतिबेला सन्दीकाको उपचारमा सबैको साथ चाहिएको भन्दै सहयोग रकम संकलन गरी उपचारका लागि सबैले सघाउनुपर्ने बताउनुभयो । बिरामी सन्दीकाकी मामा जीवन गुरुङले आफ्नी भाञ्जीको उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै स्वास्थ्य सुधारोन्मुख हुने आशा रहेको बताउनुभयो ।
सो सहयोग रकम अभियन्ताद्वय इन्द्र गुरुङ र खिमकुमारी गुरुङ “लक्ष्मी”को पहलमा संकलन गरिएको हो । आफूहरूको पहलमा संकलन भएको रकम हस्तान्तरण गर्दै सन्दीका गुरुङको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा पनि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पारिवारिक आर्थिक अवस्था कमजोर रहेकाले सन्दीकाको उपचारका लागि अन्य सहयोगी मनहरूलाई पनि सहयोगको अपिल गरेका छन् ।


योंज तमु ह्युल परिवार नेपालका अध्यक्ष पञ्चमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव हर्क गुरुङ र वरिष्ठ उपाध्यक्ष मे. कोमल गुरुङले स्वागत गर्नुभएको थियो ।

Advertisment