श्रेयाको बलात्कारपछि हत्या भएको खुलासा, आरोपी पौडेल पक्राउ

पोखरा, १० असोज
कास्कीको पोखरा महानगरपालिका–२२, पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया विक (सुनार)को बलात्कारपछि हत्याको आरोपमा प्रहरीले बालिकाका छिमेकी कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी कास्की प्रहरीले पौडेललाई सार्वजनिक गरेको हो ।
रक्सी र लागुऔषधसमेत सेवन गरेर लठ्ठिएका आरोपी पौडेलले एक्लै फेलापरेकी बालिकालाई सुरुमा फकाउन खोजेको र बालिकाले प्रतिकार गरेपछि घाँटी थिचेर बेहोस बनाइ बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।
पौडेलले सुरुमा बालिका श्रेयालाई चकलेट खान पाँच रुपैयाँ दिएको र बालिकाले नमानेपछि १० रुपैयाँ दिएर आफ्नो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जबर्जस्ती गर्न थालेपछि बालिकाले चिच्याउन थालेको र त्यसपछि अभियुक्त पौडेलले बालिकालाई घाँटीमा समातेर झाडीमा फालेको बताएको पनि प्रहरीले जनाएको छ ।
त्यसपछि पौडेलले बेहोस अवस्थाकी बालिकालाई करणी गरेर ढुंगाले टाउकोमा हानेर हत्या गरेको खुल्न आएको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
प्रहरीका अनुसार घटनापछि शंकास्पद आधा दर्जन बढीलाई पक्राउ गरिएको थियो । तीनजना बढी शंकास्पदलाई केरकार गर्ने क्रममा २७ वर्षीय पौडेलले अपराध स्वीकार गरेको पनि प्रहरीले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको बालिकाको पोस्टमार्टम रिपोर्टमा बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । पोस्टमार्टम रिपोर्टमा श्रेयाको यौनाड्ड सुन्निएको र शरीरमा चोट देखिएको उल्लेख छ ।
गत सोमबार साँझ विद्यालयबाट फर्केर बिस्कुट किन्न गएकी श्रेया घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो । उनी स्थानीय लीला आधारभूत स्कुलमा कक्षा–३ मा पढ्दै थिइन् । मंगलबार बिहानै उनको शव अर्धनग्न अवस्थामा झाडीमा भेटिएको थियो ।
यसैबीच, हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीबाहिर प्रदर्शनसमेत गरेका छन् ।

Advertisment